ads
neelambads

पर्सा प्रहरीद्वारा जलाउँदै गरेको एक किशोरीको शव नियन्त्रणमा

 

बीरगंज १६ असार। 

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैयास्थित घाटमा जलाउँदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको समाचार छ । 

विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी छोरी १४ बर्षीया महिमा कुमारीको शव, छपकैयास्थित घाटमा गए राति जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

शव, पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । गोप्य रुपमा रातिको समयमा शव जलाउने मृतक बालिकाका बुबा, दाजुभाइ र आफन्तहरू फरार रहेका छन् । 

प्रहरीले मृतक किशोरीकी आमा, दिदी र ठुली आमालाई नियन्त्रणमा लिएको छ । 

सोधपुछका लागि तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । 

प्रहरी उपरीक्षक बस्नेतका अनुसार, विष सेवन गरी आत्महत्या गरेकी महिमा कुमारीको शव अभिभावक र आफन्तले पोस्टमार्टम नगरी घटना लुकाउन रातिको समयमा घाटमा लगेर जलाउन लागेको खबर छिमेकीले प्रहरीलाई दिएका थिए । उक्त खबरको आधारमा इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी महुवनबाट खटिएको टोली राति नै घाटमा पुगेको थियो । 

प्रहरीले आधा जलिसकेको शव नियन्त्रणमा लिएको थियो । शव जलाउनेहरू भने फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । उनीहरूको खोजी भइरहेको जानकारी प्रहरी उपरीक्षक बस्नेतले दिनुभयो । 

मृतक किशोरीका छिमेकीका अनुसार, महिमा गाउँकै एक युवकसँग प्रेम सम्बन्धमा रहेका कारण अभिभावकले उनलाई मानसिक र शारीरिक यातना दिँदै आएका थिए । त्यही कारण महिमाले गए राति विष सेवन गरी आत्महत्या गरेको र मृत्युपछि अभिभावकले प्रहरीलाई खबर नगरी शव घाटमा लगेर जलाउन लागेका थिए । 

प्रहरी उपरीक्षक बस्नेतले भने शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने र त्यसैको आधारमा अनुसन्धान प्रक्रिया थप अगाडि बढाइने बताउनुभयो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads