ads
neelambads

जनप्रतिनिधिको आन्दोलित हुँदा कालिकामाईको गाउँसभा अनिश्चित

वीरगंज १८ असार। 

भागबन्डा माग गर्दै पर्साको कालिकामाई गाउँपालिकाको उपाध्यक्षसहितका केहि जनप्रतिनिधि आन्दोलित भएका छन् । जनप्रतिनिधिको आन्दोलित हुँदा कालिकामाईको गाउँसभा अनिश्चित भएको खबर छ ।

नियमानुसार असार १० गते भित्र गाउँसभा गर्नुपर्नेमा ८ दिन ढिलो हुँदा पनि कालिकामाईको गाउँसभा हुन् सकेको छैन । गाउँपालिकाकी उपाध्यक्ष राजमती देवी बरैनीले गाउँसभा भन्दा पहिला आफ्नो इच्छा अनुसार बजेट बाँडफाँडको गर्नुपर्ने माग गर्दा गाउँसभा हुन् नसकेको स्रोतको दावी छ । 

स्रोतका अनुसार उपाध्यक्ष बरैनीले बजेटमा आफूलाई ३ करोड रुपैयाँको योजना दिएर अन्य वडा अध्यक्षहरुका लागि १र१ करोड रुपैयाँको योजना छुट्याउन माग गरेकी छन् । 

तर, गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताले उपाध्यक्षको माग अनुसार बजेट बाँडफाँड गर्न नमिल्ने भनेपछि बरैनीले केही वडा अध्यक्षहरुलाई उचालेर गाउँसभामा अवरोध पुर्‍याएको स्रोतको भनाई छ ।

उपाध्यक्ष बरैनीसँग यस विषयमा बुझ्न संवाद गर्न खोज्दा उनि सम्पर्कमा आउन चाहिनन् ।

देशकै कान्छो गाउँपालिका अध्यक्ष गुप्ताले यसपटकको नीति, कार्यक्रम तथा बजेटमा गाउँलाई प्रशासनिक हिसाबले मजबुत बनाउँदै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने आफ्नो योजना रहेकोले उपाध्यक्ष र अन्य केही जनप्रतिनिधिले माग गरे अनुसार बजेट दिन नमिल्ने बताए । 

असन्तुष्ट जनप्रतिनिधिहरलाई प्रशासनिक कार्य, शिक्षा र स्वास्थ्यसँग जोडिएका योजनाहरु ल्याउन आग्रह गरेपनि उनीहरुले योजना बिनाकै रकम माग गरिरहेको अध्यक्ष गुप्ताको भनाई छ । 

‘गाउँपालिकाले प्राथमिकतामा राख्न खोजेको योजनाहरु ल्याउन भन्दा उहाँहरु सोझै बजेट दिनुस्, हामी आफ्नो हिसाबले खर्च गर्छौँ भन्नु हुन्छ । यसरी गर्न नीति, कार्यक्रम र बजेट बनाउँन मिल्दैमिल्दैन्,’ उनले यात्राडेलीसँगको कुराकानीमा भने । 

गुप्ताका अनुसार असन्तुष्ट जनप्रतिनिधिहरुले माग गरे अनुसारको नीति, कार्यक्रम तथा बजेट ल्याउँदा महत्वपूर्ण योजनाको लागि बजेट अपुग हुन्छ ।

नयाँ जनप्रतिनिधि आएकोले यस वर्ष गाउँपालिकाबाट प्रवाह हुने सेवासुविधालाई प्रविधिमैत्री बनाउँदै आधुनिकिरण गरेर छिटोछरितो र घरघरसम्म पुर्‍याउने, विद्यालयहरुमा भौतिक सुधार गर्दै त्यहाँ पनि प्रविधियुक्त शिक्षाको सुरुवात गर्ने र स्वास्थ्य केन्द्रहरुमा पनि जनशक्ति र स्रोतको व्यवस्थापन गर्दै गाउँमै अधिकतम स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो सोच रहेको अध्यक्ष गुप्ताले बताए । 

‘यस वर्ष प्रशासनिक सेवा सुधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गरेर क्रमस आगामी वर्षहरुमा अन्य भौतिक पूर्वाधारहरु निर्माण गर्न सकिन्छ । तर उपाध्यक्ष र केही वडा अध्यक्षहरुको प्राथमिकतामा शिक्षा र स्वास्थ्य छैन,’ अध्यक्ष गुप्ताले भने, ‘उहाँहरुले भागबन्डा लगाएर माग अनुसारको बजेट दिँदा महत्वपूर्ण योजनामा रकम अपुग हुन्छ ।’

गाउँपालिका अध्यक्ष गुप्ताले उपाध्यक्ष र अन्य असन्तुष्ट वडा अध्यक्षहरुलाई छलफल मार्फत विवादलाई टुङ्गयाउन अनुरोध गर्दा पनि उनीहरु आफ्नो अडानमा अडिग छन् । 

अहिले उनीहरु समूह बनाएर अध्यक्षको विरोधमा लागेका छन् । असन्तुष्ट पक्षले शुक्रबार गाउँपालिकाकी उपाध्यक्ष राजमती देवी बरैनी र प्रमुख प्रशासकीय अधिकृत अमित गिरीलाई गाउँपालिका विधी र प्रकृया संगत सञ्चालन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । 

उनीहरुले अध्यक्ष गुप्ताले एक्लौटी रुपले विधी विपरित पालिका सञ्चालन गरेको आरोपसमेत लगाएका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads