ads
neelambads

बालिका अपहरण गरी २० लाख फिरौती माग्ने समुहकाे एकजना पक्राउ

 

राैतहट २५ असार । 

बालिकालाई अपहरण गरी फिरौती माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको समाचार छ ।

अपहरणमा परेकी बालिकालाई प्रहरीले सुरक्षित रुपमा उद्धार समेत गरेको खबर छ । असार २३ गतेका दिन साझ करिब सवा सात बजेको समयमा घर बाहिर खेल्दै गरेको बालिका अचानक गाएव भएपछि आफन्तले प्रहरीलाई जानकारी गराउदा रौतहट प्रहरीले गरेको सर्च अनुसन्धानको क्रममा फिरौती रकम २० लाख रुपैयाँ माग्ने व्यक्ति पक्राउ गरेको छ । 

बालिकालाई अपहरण गरी आफन्तलाई फोन गरेर तेरो छोरी मेरो कब्जामा छ २० लाख रुपैयाँ लिएर राजपुर नगरपालिका अन्तर्गत पर्ने इद्रिस गेट नजिक आउ भनि फोन गर्दा सो को जानकारी प्रहरीलाई गराएपछि खोज तलास गर्ने क्रममा अपहरणमा परेकी बालिकालाई सकुशल उद्धार गर्न तथा अपहरणकारीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए छ ।

अपहरणकारीले रकम लिएर आउने भनेको स्थान राजपुर नपा वडा नं. १ मा प्रहरी जादा खोजतलास गर्दा मदरसा नजिक सडक अगाडि रहेको गुमती पसल नजिक बनाइएको बासको खाटमा सुताइएको अवस्थामा बालिका फेला परेको प्रहरीले जनाएको छ । 

पीडित बालिकालाई बन्धक बनाउने स्थानीय इशनाथ नगरपालिका ७ बस्ने २४ वर्षीय महमद अविर हुशैनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जनाएका छन् । 

साथै अपहरणकारीले प्रयोग गरेको बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटर साइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका हुसैन माथि अपहरण तथा शरीर बन्धक सम्वन्धी कसूरमा रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ थप अनुसन्धानको कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads