ads
neelambads

नेपाल, भुटानसँग जोडिएको भारतिय सीमा सुरक्षा प्रमुख नेपाल आउँदै

 

काठमाण्डाै ४ असाेज । 

नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल ( एसएसबी ) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । 

गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत – चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी ) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । 

आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादी) गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ ।

सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन नेपाल आउन लागेको सशस्त्र प्रहरी बलले जनाए । 

बैठक बुधबारदेखि नै हुने तय भएको थियो तर उतै (भारत) बाट कार्यक्रम केही दिन स्थगित गर्न आग्रह आएपछि बैठक सारिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विदुर खड्काले बताए ।

उनले आगामी साता बैठक बस्ने गरी तयारी भइरहेको र गृह मन्त्रालयले त्यसको मितिको बारेमा छलफल गरिरहेको बताए । गृह मन्त्रालयबाट बैठकको कार्यतालिका आइसकेपछि थप तयारीमा लाग्ने उहाँले जनाए ।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र एसएसबीबीच सूचना आदान प्रदान, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायत सीमामा हुने अन्तरदेशीय शंकास्पद गतिविधिलाई कसरी रोक्ने लगायतको विषयमा छलफल हुने उहाँले बताए ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको एसएसबीका प्रमुख थाओसेनले आआफ्नो टोलीको नेतृत्व गर्ने जनाए । 

नेपाल र भारतका सीमा सुरक्षा बलबीच सन् २०१२ देखि यस्तो बैठक हुन लागेको हो । नेपाल र भारतबीच एक हजार ८१८ किलोमिटर लामो खुला सीमा छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads