ads
neelambads

प्रश्नको घेरामा मतदाता शिक्षा, मतदाताले ल्याप्चे लगाएरै मतदान


बर्दिबास  ३ मंसिर । 

सहमाया विक हरेक निर्वाचनमा मत खसाल्नु हुन्छ। पञ्चायतकालदेखि मत खसालेको उहाँलाई सम्झना छ। उहाँको मत भने अहिलेसम्म निर्णायक हुन सकेको छैन। उहाँले खसाएको मतले कसैले जित्न पाएको पनि छैन। 

रामनगर गाउँकी ६७ वर्षीया विक महोत्तरीको निर्वाचन क्षेत्र नं. १ की मतदाता हुनुहुन्छ। उहाँले स्वास्तिक छाप लगाउनुपर्नेमा ल्याप्चे लगाएर मत खसाल्ने गर्नुभएको छ।  

उहाँको परिवारमा तीन भाइ छोरा बुहारीसहित आठ जना मतदाता छन्। सबैले आफूले जस्तै मत खसाल्दै आएको उहाँको भनाइ छ। दलित, जनजाति, तागाधारी, कुशवहा, साहुजीलगायत जातजातिका एक हजारभन्दा बढी परिवार बस्ने रामनगरमा सहमाया मात्र हैन, ल्याप्चे लगाएरै भोट हाल्ने मतदाता उल्लेख्य सङ्ख्यामा भएको पाइएको छ। 

स्थानीय महिला स्वास्थ्य स्वयंसेविका रेणु महतोले रामनगरस्थित एक दर्जन आमा समूहका ६० जनाभन्दा बढीले मतपत्रमा ल्याप्चे लगाउने गरेको बताउनुभयो। 

हरेक समूहका पाँचदेखि सात जना महिलाले स्वस्तिकको ठाउँमा ल्याप्चे लगाउने गरेको उहाँले खुलासा गर्नुभयो। स्वयंसेविका रेणुका अनुसार महिला मात्र हैन गाउँमा मत खसाल्न नजान्ने पुरुषको सङ्ख्या पनि उल्लेख्य छ।  

गाउँकी ६० वर्षीया कुशमी महराले त मतपत्रमा भए जति सबै चुनाव चिह्नमा एक लहरले छाप लगाउने गरेको बताएर सबैलाई चकित पार्नुभयो। यसरी मत खसाल्दा कसैको पनि चित्त नदुख्ने उहाँको बुझाइ छ। 

उहाँले भन्नुभयो, “किन चित्त दुखाउनु, भएजतिमा छाप लगाइदियो सबै खुसी ...

मत बदर गर्ने समस्या रामनगरको मात्र हैन, जिल्लाका हरेक गाउँमा यस्ता मतदाता भेटिने गरेका छन्। पूर्वाधार विकासको दृष्टिले जिल्लाकै ‘मोडल’ मानिएको बर्दिबास – १४ की ७० वर्षीया शान्ता हमालले पनि ल्याप्चे लगाएरै मत हाल्दै आउनुभएको छ। 

स्थानीय निर्वाचनमा पनि उहाँले मतपत्रमा ल्याप्चे नै ठोकेको बताउनुभयो। “यसैगरी भोट दिन्छु,” बुढी औँला देखाउँदै उहाँले बताउनुभयो। 

मत बदर हुने कारणमा औँठा छाप मात्र छैन। ग्रामीण भेगका मतदातालाई एकैपटक चार थरिका मतपत्रले पनि अन्योलमा पारेको छ। कुन मतपत्रको प्रयोजन के हो स्पष्ट हुन सकेको छैन। फूलकाहा – ७, जयपुरका ६५ वर्षीय शङ्कर राय आफू निरक्षर भएको बताउनुहुन्छ। 

यस पटक चारवटा मतपत्र हुने पनि उहाँलाई थाहा छ। नमुना मतपत्रमा देखाउँदै त्यसमध्ये कुनै एक मतपत्रको चार ठाउँमा ल्याप्चे हान्नुपर्ने बताउनुभयो। 

“चारवटा कागज ९मतपत्र० दिन्छन हैन रु त्यसमध्ये एउटाको चारवटा कोठामा छाप लगाएर बाकसमा खसाल्नु पर्छ,” स्थानीय भाषामा आफूले बुझेको मत हाल्ने तरिका बारे बताउनुभयो। छिमेकी फूलकहा–६ का ६६ वर्षीय रामप्रगास रायलाई स्वस्तिक चिह्नले मत खसाल्नुपर्ने त थाहा छ तर कतिवटा मतपत्रमा भोट हाल्नुपर्ने जानकारी नभएको बताउनुभयो। 

गौशाला–९ का युवा मतदाता सत्यनारायण यादवका अनुसार मत हाल्ने प्राविधिक जानकारी नहँुदा पहिलो पटक भोट दिने नयाँ मतदाता पनि अन्योलमा छन्। जानकारी अभावले पढेलेखेका नयाँ मतदातालाई पनि मत बदर हुन्छ कि भन्ने मनावैज्ञानिक दवावमा परेको उहाँको बुझाइ छ।  

 स्थानीय रेडियोकर्मी निरञ्जन साहको बुझाइमा मतदाताको अज्ञानताप्रति कोही गम्भीर छैनन्। स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम नचलाउँदाको असर यो निर्वाचनमा पनि देखिने सम्भावना बढेको छ। यस पटक हतारमा दिइएको मतदाता शिक्षा खासै प्रभावकारी नदेखिएको स्थानीयको बुझाइ छ।

विगत निर्वाचनको तथ्याङ्कबाट समेत यो कुराको पुष्टि हुन्छ। स्थानीय तह निर्वाचनमा महोत्तरीमा कति मत बदर भए जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको छैन। 

अघिल्लो निर्वाचनमा जिल्लामा १७ हजार ८६१ मत बदर भएका थिए। पन्ध्र सयदेखि दुई हजार मतान्तरले हारजित हुने महोत्तरीमा यी मत बदर नभएको भए निर्वाचन परिणाम अर्कै हुने थियो। 

दोस्रो संविधान सभाको निर्वाचनताका क्षेत्र नं। ३ मा केवल ३७ मतले पराजित एक निकटतम प्रतिद्वन्द्वीको चिह्नमा एक हजार सात सय ल्याप्चे मत परेका थिए। जिल्ला निर्वाचन अधिकारी सुवोध महतोले यस पटक जिल्लाका १३८ वटै वडामा प्रभावकारी रूपमा मतदाता शिक्षा दिइएको दाबी गर्नुभयो। 

उहाँले घरदैलोमै पुगेर दुई हप्ता लामो मतदाता शिक्षा सञ्चालन भएकाले यस पटक समस्या नहुने उहाँको विश्वास छ। महतोले भन्नुभयो,“अनुगमनका क्रममा पनि मतदाता शिक्षा सन्तोषजनक देखिएकाले यो पटक बदर मत सङ्ख्या घटने कुरामा आशावादी छौँ।”  

गौशाला–९, भरतपुरका किसान बेचन साह मत बदर हुनुमा मुलुकको कानुनी प्रक्रिया पनि कारण भएको ठान्नुहुन्छ। नागरिकता लिँदा, जग्गा खरिद बिक्री गर्दा, ऋण लिँदा, मतदाता परिचयपत्र बनाउँदा हरेक सरकारी कामकाजमा औँठा  छाप नै लगाउनुपर्ने भएकाले सर्वसाधारणको बुझाइमा औँठा  छाप सबैभन्दा पक्का र खाँटी छाप हो। 

स्वस्तिक त नक्कली पनि हुन सक्छ, तर ल्याप्चे लगाएको मतलाई कसैले बदर र नक्कली पार्न नसक्ने सोझासाझा मतदाताको बुझाइ छ। उहाँले भन्नुभयो ‘यस्तै बुझाइले गर्दा मेरो बुवाले पनि ल्याप्चे लगाएरै भोट दिनुहुन्थ्यो, यस्ता मतदाता प्रशस्त छन्।’ 

ग्रामीण भेगमा विद्यमान यो परिस्थितिले मतदाता शिक्षाका नाममा हुने खर्च, उपयोगिता र पद्धतिमाथि पनि प्रश्न खडा गरेको छ।  

Post a Comment

Previous Post Next Post
neelambAd
ads