अङ्ग्रेजी नयाँ वर्ष २०२३ मनाउन शनिवार बिहान देखि पर्सा जिल्लाकाे ठाेरीमा स्थानिय तथा भारतीय पर्यटकहरूको घुइँचो लागेको खबर छ ।
विशेष गरी अङ्ग्रेजी नयाँ वर्षमा छिमेकी मित्र राष्ट्र भारत नरकटियागंज, बेतिया, रामनगर लगायत बिभिन्न स्थानहरूबाट पिकनिक मनाउन हजारौँ पर्यटकहरू ठोरी आएका छन् ।
त्यसै गरी ठोरीमा बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर लगायत वीरगंजबाट समेत ठूलो स्थानियबासीहरूकाे सङ्ख्यामा पुगे छन् ।
ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएसँगै होटल व्यवसायीलाई भ्याई नभ्याई भएको छ भने अमृतधारा लगायत खोला, बगर, जङ्गलमा पिकनिक मनाउन आउनेहरूको सङ्ख्या हजारौँ रहेको समाचार छ ।
ठोरीको मनोरम र मनमोहक दृश्य तथा शान्त वातावरण नै पर्यटकहरूलाई मन पर्ने गरेकोले हाल त्यस क्षेत्र पिकनिक मनाउन जानेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको स्थानियबासीहरू बताउछन ।
ठूटे खोलासँगै सितागुफा र सेतो पहाडमा नेपाली राष्ट्रिय झन्डासहित सजाइएको र पिकनिक गर्ने नदी, किनार, बगर, जङ्गलसँग जोडिएको क्षेत्रको सरसफाइ समेत गरिएको ब्यवसायीहरूले जनाए ।
भारतबाट नयाँ वर्ष मनाउन आजै सयौँको सङ्ख्यामा परिवारसहित भारतीय नागरिक आइपुगेको र कतिपय होटलमा, कतिपय होमस्टे र कतिपयले आफैले बन्दोबस्तीका सामानसहित टेन्ट गाडेर बसेका छन् ।
विगत दुई वर्षदेखि ठोरी आउनको लागि बाटोको सुविधा अत्यधिक राम्रो भएकाले पर्यटकहरूको रोजाइमा ठोरी परेको स्थानियबासीहरूले जानकारी गराए ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि ठोरी भित्रिने पर्यटकको सुरक्षाको राम्रो व्यवस्था मिलाइसकिएको र यसका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी पर्यटकीय क्षेत्रमा खटिएका छन् भने ट्राफिक प्रहरी समेत ठोरी पुगेर सवारी व्यवस्थापनमा सहयोग गरेकाेछ ।