ads
neelambads

नवजात शिशु नि ः सन्तान दम्पतीलाई बिक्री गर्ने डा. कर्णकाे अकुत सम्पत्तिको छानबिन सुरु

 

बीरगंज ११ भदाै । लाखौं रुपैयाँ लिएर निःसन्तान दम्पतीलाई नवजात शिशु बेच्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्व मेसु डा. तपेश्वरलाल कर्ण विरुद्ध प्रहरीले संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको समाचार छ । 

उनको अकुत सम्पत्तिको छानबिन गर्न पनि सम्बन्धित निकायलाई प्रहरीले पत्राचार गरेको खबर छ । नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएको आरोपमा कोशी अस्पतालका पूर्व मेसु डा. तपेश्वरलाल कर्ण पक्राउ परेका हुन ।

डा. कर्ण नेतृत्वको शिशु बेचबिखन गिरोह नेपाल – भारतका केन्द्रीयस्तरका राजनीतिक हस्तीसम्म पहुँच भएको कुरा खुलेको प्रहरीले जनाएको छ । 

उनीसहितका नेपाली चिकित्सकहरूले भारतका विभिन्न राज्यका नागरिकलाई समेत शिशु बेचेको जानकारी आएकाले अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत मद्दत लिने प्रहरीले बताएको छ ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जन कुमार दाहालका अनुसार डा. कर्ण विरुद्ध तीन वटा शीर्षकमा मुद्दा चलाउने तयारी गरेको जानकारी गराउनु भयाे । 

‘डा. कर्ण अस्पताल भर्ना भएका कारण बयान पूरा हुन नपाएर थप अदालती प्रक्रिया रोकिएको छ,’ उनले भने, ‘पक्राउ परेका अन्य र साक्षीहरूको बयान लिइ सकिएको जनाए ।’

 उच्च रक्तचाप एवं मधुमेहका रोगी डा. कर्ण शनिबार पुनः कोशी अस्पताल भर्ना भएका छन् । उनलाई साँझ बिहान इन्सुलिन सुई लगाउनु पर्ने भएपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाए ।

डा. कर्णले पछिल्लो पटक भोजपुर हतुवागढी वडा नं. ४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका वडा नं. २ आदर्श टोलका सूर्य नारायण राजवंशी दम्पतीलाई  रू. ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको थियो । 

प्रहरीले उनीहरू सहित अपराधमा संलग्न ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

उनले ती शिशुको व्यवस्थापनका लागि अविवाहित बुबासँग पनि ३५ हजार रुपैयाँ लिएको कुरा खुलेको छ ।

डा. कर्णको अकुत सम्पत्ति छानबिन गर्नका लागि सम्बन्धित निकाय र बैंक स्टेटमेन्टका लागि राष्ट्र बैंकलाई प्रहरीले पत्रचार गरेको छ । 

चिकित्सक पेसामा संलग्न हुनु अघि सामान्य आर्थिक अवस्थाका डा. कर्णले अवैध गर्भपतन गराउने तथा शिशु बेचबिखनबाट अर्बौंको सम्पत्ति जोडेको सूचना पाएपछि उनको सम्पत्ति छानबिन प्रक्रिया थालिएको डीएसपी दाहालले जनाए ।

झन्डै तीन दशकअघि विराटनगर आउँदा सामान्य अवस्थाका डा. कर्णको आर्थिक हैसियत अस्वाभाविक ढंगले बढेको छ ।

सुरुमा हालको दिपेश मेडिकल क्लिनिक खरिद गरेको केही समयमै कर्णले विराटनगरका विभिन्न स्थानमा जमिन किन्ने र घर बनाउने अभियान थालेका थिए । 

उनले विराटनगर वडा नं. ७ कोशी अस्पताल अगाडि चारतले भवन बनाएका छन । 

त्यही कोइराला निवास नजिकै अढाई कट्ठा जमिन किनेका छन । वीरेन्द्र सभागृह अगाडि घडेरी किनेर घर बनाएका छन । 

विराटनगर वडा नं. २ तीनपैनी चोकको सोमबारे हाटमा आफू बस्ने तीनतले आलीसान भवन बनाएका छन ।

उनी निकटका अनुसार विराटनगर बसपार्क छेउमा पनि डा. कर्णले १५ धुर घडेरी किनेका छन । 

त्यति मात्र होइन, मोरङ बुढीगंगा गाउँपालिकाको हात्तीमुढामा अढाई बिघा खेती किनेका छन । काठमाडौंको बूढानीलकण्ठमा आठ आनामा भव्य घर बनाएका छन । 

भारत दिल्लीको गुडगाउँमा समेत घर खरिद गरेको पाइएपछि प्रहरीले सम्पत्ति छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ ।

२०५२ मा कोशी अस्पताल आएपछि झन्डै अढाई दशक स्त्री एवं प्रसूति रोग विभागमा काम गरेर सेवा निवृत्त भएका उनी २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म उक्त अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट थिए । 

डा. कर्ण पक्राउ गरेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विशेषज्ञ पनि संलग्न भएको प्रहरीले आशंका गरेको छ । 

एमबीबीएस एमडीजीपी गरेका डा. कर्णको निजी दिपेश मेडिकल क्लिनिक सहित उनले प्रसूति गराएका विराटनगरका आधा दर्जन निजी अस्पतालमा प्रहरीले अनुसन्धान गर्न थालेको छ ।

प्रहरीका अनुसार डा. कर्ण संलग्न गिरोहले छिमेकी भारतका प्रभावशाली नेताहरूसम्म पहुँच बनाई विभिन्न राज्यमा समेत शिशु बेचबिखन गरेको जानकारी आएको छ । 

यो निकै गम्भीर प्रकृतिको अपराध भएको भन्दै प्रहरीले पक्राउ र शंकास्पदको वारिपारिकै केन्द्रीयस्तरका राजनीतिक हस्तीसम्म पुग्न सीआईबीले समेत सघाउने जनाएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads