बीरगंज ७ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ चुरियामाईमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेहरू भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरा देवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चर्तुवेदी, ६५ वर्षीय श्रीकान्त चर्तुवेदी, ६७ वर्षीया वैजन्ती देवी र महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित रहनु भएको छ ।
पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुरकालागि छुटेको तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नं। को बस आज बिहिबार बिहान चुरियामाईमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १७ जना घाइते भएका थिए ।
घाइतेहरुको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनमा रहेको पुरानो मेडिकल कलेज, भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी जानकारी गराएको छ ।