बीरगंज १० भदाै । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले एकै पटक १४० प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरूले आन्दोलन चर्काउँदै लगेकाे समाचार छ।
गत साउन २५ गते गरेको निर्णयबारे भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्क दोब्बर बढीले वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् ।
नयाँ भर्नाको मौका छोपेर अस्वभाविक रुपमा शुल्क वृद्धि गरिएपछि सत्तारुढ र प्रतिपक्षी दलनिकट सबै विद्यार्थी संगठनहरू सडकमा उत्रिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार प्रदर्शन गर्यो ।
शुल्क वृद्धि तत्काल फिर्ताको माग राख्दै नेविसंघ बालुवटार घेर्न पुगेको छ । प्रदर्शनकारीहरूले शुल्क वृद्धि फिर्तासँगै सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने, इन्टर्नसिप, रोजगार सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय सङ्कट घोषणा गर्नुपर्ने माग पनि राखेका छन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबारको प्रदर्शन ट्रेलर मात्रै भएको जनाए । सरकारले विद्यार्थीहरूको माग सम्बोधन नगरे आगामी दिनमा बालुवाटर घेरेरै आफूहरूले सत्याग्रह सुरु गर्ने उनले चेतावनी चेतावनी दिएका छन ।
प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले भने, ‘यो त ट्रेलर मात्रै हो । सरकारले अझै हाम्रो मागबारे बेवास्ता गर्यो भने अकुपाइ बालुवाटार गरेर यहीँ बस्छौं, यहीँ सुत्छौं ।’
शुल्क वृद्धि फिर्ताको मागसहित नेविसंघ पुल्चोक क्याम्पसका नेता सुलभ चापागाईं ६ दिनदेखि अनशनमा छन् ।
ज्यानको बाजी थापेर देशभरका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको हितकालागि आमरण अनशन बसेका उनलाई राज्यले किन देखेन भन्दै प्रश्न पनि गरेका छन् ।
‘नेपालको इन्जिनियरिङ शिक्षालाई गरिब तथा जेहेन्दार विद्यार्थीको पहुँचमा पुर्याउन भनेर उहाँ (चापागाईं) सत्याग्रहमा हुनुहुन्छ’, अध्यक्ष शेर्पाले प्रश्न गरे, ‘त्यसरी एउटा विद्यार्थी सबै गरिब तथा जेहेन्दार विद्यार्थीको मुद्दा बोकेर सत्याग्रहमा बसेका सरकारले देखेको छ कि छैन ?’
यसअघि गएको बुधबार पत्रकार सम्मेलन गर्दै नेविसंघले शुल्क वृद्धि फिर्ता लिन ३ दिने अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम सकिएपछि नेविंघ आज प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रदर्शन गरेको छ ।
शुल्क वृद्धि फिर्ताका लागि यसअघि नै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार मन्त्रीहरूको सवारी आवागमनमै अवरोध गर्यो ।
माग सम्बोधनमा चासो नदेखाएको भन्दै अनेरास्ववियुले बिहान ८ देखि ९ बजेसम्म मन्त्री निवास पुल्चोकबाट बाहिरिने र भित्रिने मन्त्रीहरूका गाडी अवरोध गरेको थियो ।
मन्त्रीको सवारी रोक्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सीसमेत चलेको थियो ।
अनेरास्ववियुका अध्यक्ष समीक बडाल शुल्क वृद्धि फिर्ता नभएसम्म आफूहरूको आन्दोन नरोकिने बताउँछन् ।
विद्यार्थीबाट एकैपटक दोब्बरभन्दा बढी शुल्क असुलेर सरकार तथा सरकारी निकाय नै मिटरब्याजी बन्ने प्रयास गरेको उनको आरोप छ ।
‘हामीले विद्यालयहरूमा बन्द, हड्ताल गर्दैनौं भनेर घोषणा गरेका थियौं ।
त्यसको मतलब जे गर्न पनि पाइन्छ भन्ने होइन’, अध्यक्ष बडालले भने, ‘एकैपटक यत्रो शुल्क वृद्धि गर्नुले सरकार आफैले मिटरब्याजमा विद्यार्थीबाट पैसा अशुल्न लागेको भन्ने देखाउँछ । सरकारले यसरी विद्यार्थीबाट शुल्क उठाउन पाउँछ ?’
सरकारले तत्काल आफूहरूको माग सम्बोधन नगरे अनेरास्ववियु जस्तोसुकै कदम चाल्न तयार रहेको बडालले बताए । ‘सरकारले चाँडो यो कुराको सम्बोधन गरेन भने जुनसुकै खालको घटना पनि घटन सक्छ ।
त्यसपछि त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ’, उनले चेतावनी दिए ।
शुल्क वृद्धिविरुद्ध समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले पनि आइतबार देखि आमरण अनशन सुरु गरेका छन् ।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादीनिकट अनेरास्ववियू, जसपानिकट समाजवादी विद्यार्थी युनियनले आमरण अनशन थालेको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
अनशनमा अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी संगठनका उपमहासचिव रचना यादवलगायत छन् ।
समाजवादी मोर्चा निकट यी विद्यार्थी संगठनहरूले भदौ ७ गते पत्रकार सम्मेलन गर्दै वृद्धि गरेको शुल्क खारेज गर्न २४ घन्टे अल्टिमेटम दिएका भएपनि संस्थान गम्भीर बन्नुको सट्टा आन्दोलन र मागलाई बेवास्ता गर्दै आएकोले आइतबारदेखि आमरण अनशन थालेको विद्यार्थी नेताहरूले बताए ।