बीरगंज ८ भदौ । नेपाल सरकारको नियम कानुन फितलो भएकै कारण पर्सा, बारा, रौतहट लगायत जिल्लाका सहकारी संस्थाका संचालकहरू गरीब निमुखा नेपाली जनता पेटभरी नखाएर सहकारी संस्थामा बचत गरेको रकम लिएर संचालक फरार हुदै आएको समाचार बारम्बार पत्र पत्रिकामा प्रकाशित हुदै आएपनि नेपाल सरकारले ठोस कानुन बनाउन नसकेका कारण संचालकहरू गरीब निमुखा जनताको रकम लिएर फरार हुन पल्केका छन ।
यसैगरी सर्लाही सदरमुकाम मलंगवास्थित एक सहकारी संस्थाका अध्यक्षले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका छन् । सो क्रममा रकम हिनामिना आरोपमा सहकारीका चार कर्मचारी थुनामा परेका छन् ।
मलंगवा नगरपालिका वडा नं. ८ मा स्थापना भएको सुविधा बचत तथा ऋण सहकारीले बचतकर्ताको करिब २४ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ ।
सहकारीबाट ठूलो रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मल श्रेष्ठसहित अन्य दुई कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह थुनामा परेका छन् ।
सुविधा बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर गुप्ता भने फरार रहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार सहकारीबाट रकम लिनकालागि सञ्चालक समितिलाई जानकारी गराउनु नपर्ने नियम साधारणसभाबाट पास गराएका थिए ।
फरार सहकारीका अध्यक्ष गुप्ताको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । गुप्ता दुई कार्यकाल उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्षसमेत भएका थिए ।
सहकारीबाट रकम हिनामिना भएपछि बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । सहकारीका लागि बजारमा खटिएका बचत अभिकर्ता भने दिनहुँ तनाव खेपिरहेका छन् ।