बीरगंज १० भदाै । सुनसरीको धरानमा निषेधाज्ञ हटेपछि आज बिहानै देखि चहलपहल शुरु भएको समाचार छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकामा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजे पछि हटेको छ ।
हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम रहेकाे थियो ।
धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारी साधन पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा भइरहेका गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपिल समेत गरेका छन ।
त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगले हिजो विज्ञप्ति निकालेर सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको थियाे ।
धरानमा सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दल, त्यहाँका पूर्व मेयर देखि अहिलेका मेयर हर्क साम्पाङ राई, विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि आग्रह गरेका छन् ।