वीरगंज २२ भदाै । उपराष्ट्रपति राम सहाय प्रसाद यादवले मुलुकको अर्थतन्त्रमा औषधि व्यवयासीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन औषधि व्यवसायी सङ्घले थप योगदान दिनुपर्नेमा जोड दिए ।
औषधि व्यवसायीको विद्यमान समस्यालाई गम्भीरताका साथ लिएर समाधानका लागि सरकारले कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
नेपाल औषधि व्यवसायी सङ्घको १४औँ अधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्दै उनले भने, “देशका दूरदराजमा वस्तीका नागरिकसम्म अझै स्वास्थ्य सेवा सहज पहुँच पुग्न नसकेकाले स्वास्थ्य सेवाकै अभावमा ज्यान गुमाउनुपर्ने स्थिति छ, त्यसैले अब कुनै पनि नागरिकले उपचारकै अभावमा मर्नु नपरोस् भन्ने अवस्थाको सृजना गर्नु आवश्यक छ ।”
स्वास्थ्य सेवालाई सहज, सुल्भ र सबैको पहुँच हुने अवस्थाको सृजना गर्न औषधि व्यवसायीको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै उपराष्ट्रपति यादवले शहरदेखि गाँउसम्म औषधि व्यवसायीले सेवा दिइरहेकाले अबका दिनमा दूरराजका वस्तीसम्म पनि औषधिको सेवा अझ प्रभावकारीरूपमा उपलब्ध गराउन आग्रह गरे ।
सो अवसरमा उपराष्ट्रपति यादवले विगत ६० वर्षदेखि औषधि व्यवसायमा सङ्लग्न वीरगञ्जका ८० वर्षीय राजेश्वरप्रसाद सर्राफलाई दोसल्ला ओढाएर सम्मान गरे ।
वीरगञ्जस्थित नगरसभा गृहमा सुरु भएको सङ्घको अधिवेशनमा केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्षलगायत प्रत्येक जिल्लाबाट तीन÷तीन जनाको प्रतिनिधि र पर्यवेक्षक गरी २१० जनाको सहभागीता रहेको सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिए ।
सो अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, आयात, थोक र खुद्रा बिक्रेताबाट एकरएक जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदाधिकारीसहित २१ सदस्यीय कार्य समिति चयन हुनेछन् ।