बीरगंज २४ भदाै । मधेस प्रदेशमै सबैभन्दा ठुलो आर्थिक कारोबार र सेयर सदस्य रहेको बाराको डुमरवानास्थित साना किसान कृषि सहकारी संस्था लि. को खराब कर्जा बढ्दै गएको समाचार छ ।
पछिल्लो समय देखिएको आर्थिक मन्दीको कारण संस्थामा भाका नाघेको खराब ऋण र व्याज मात्रै ४ करोड नाघेको छ ।
गत आर्थिक वर्षसम्म भाका नाघेको साँवा रकम २ करोड ८७ लाख रहेको छ भने संस्थाले पाउनुपर्ने व्याज रकम मात्रै १ करोड ५७ लाख रहेको संस्थाका अध्यक्ष प्रदीप बरालले जनाए ।
साना किसान कृषि सहकारी संस्था डुमरवाना अन्तर्गत ८ हजार ५ सय सेयर सदस्य छन् ।
रू. १ अर्ब २५ करोड लगानी, १ अर्ब १५ करोड सेयर सदस्यहरुको बचत रकम संस्थामा रहेको छ । ‘२०६८ सालअघिसम्म देशको सबैभन्दा ठुलो आर्थिक कारोबार गर्ने उत्कृष्ट सहकारीमा पुरस्कार पाएको संस्थामा ३५ करोड तरलता हुँदा पनि अहिले ‘क’ ग्रेडिङबाट ‘ग’ मा पुग्यौ, यसमा ऋण लगानी, भाका नाघेको ऋण, कर्मचारी र सञ्चालक समितिको धेरै कमजोरी छ ।’ अध्यक्ष बरालले भने ‘हामीले सुधार गर्नुपर्ने सूचकहरू धेरै छ ।’
बारा, पर्सा, रौतहट कार्यक्षेत्र रहेको साना किसान कृषि सहकारी संस्थाले हाल बारा जिल्लाको ४ वटा पालिकामा काम गरिरहेको छ ।
संस्थाको मुख्य कार्यालय जीतपुर सिमरा उपमहानगरमा रहेको छ भने शाखा कार्यलयहरु निजगढ, कोल्हवी नगरपालिका र बारागढी गाउँपालिका छ ।
साना किसान कृषि सहकारी संस्था २०६८ सालअघि देशकै सर्वोत्कृष्ट सरकारीको रूपमा धेरै पटक पुरस्कार पाएको थियो ।
ऋण लगानी र असुलीमा अन्तर समूहले विशेष निगरानी राख्न सक्नुपर्ने अध्यक्ष बरालको भनाई थियाे । ‘सदस्यले मागेको ऋण उसले बोक्न सक्छ - सक्दैन, तिर्ने उपायहरू के के छ ध्यान दिएर मात्रै अन्तर समूहले माग फारम पास गर्नुहोला’ अध्यक्ष बरालले भन्रु भयाे ।
संस्थाभित्र लामो समयदेखि चलेको अन्तरद्धन्द्ध र कोभिड पछिको आर्थिक मन्दीले खराब कर्जाको रकम बढ्दै गएको जनाए ।
संस्थाका पूर्व मुख्यप्रवन्धक नारायण क्षेत्री र तत्कालीन सञ्चालन समितिबिचको संस्था सञ्चालनको विषय र मुद्दा मामिलालाई लिएर विवाद बढेपछि सेयर सदस्यहरूले धमाधम संस्था छोड्न सुरु गरेका थिए ।
४ वर्षअघिसम्म १० हजार सेयर सदस्य नाघेको संस्थाका हाल सदस्य सङ्ख्या घटेर ८ हजार ५ सयमा पुगेको छ ।
संस्थाका वरिष्ठ प्रबन्धक राजेन्द्र जमरकट्टेलले खराब कर्जा बढ्नुमा मुख्य असर अहिलेको आर्थिक मन्दी र विगतमा संस्थाभित्रको अन्तरद्धन्द्ध नै मुख्य कारण भएको बताएका छन् ।
‘आर्थिक मन्दीका कारण हामीले प्रयाप्त रूपमा लगानी गर्न पनि सकेनौ, भाका नाघेको व्याज बाँकी बस्नुको कारण हामीले असुली गर्न पनि सकेनौ ।’
साना किसान कृषि सहकारी संस्था डुमरवानाले ९ प्रतिशतदेखि अधिकतम १६ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएको छ ।
पशुपालन, दूधजन्य तथा मासुजन्यमा धितोमा ९ प्रतिशत ब्याजदरमा २५ लाखसम्म लगानी गर्ने गर्दछ । ग्रामीण लघु उद्यम कर्जामा कृषि क्षेत्रमा काम गर्न सकेमा ५० लाखसम्ममा संस्थाले लगानी गर्ने वरिष्ठ प्रबन्धक जमरकट्टेलले जनाए ।
समुदायमा आधारित भएकाले सङ्घ संस्था सञ्चालनमा खासै जोखिम नरहेको उनले बताए । ‘केही व्यक्तिले ऋण मिनाहा हुन्छ भन्ने हल्लै हल्लाले ऋण नतिरेका हुन् तर समुदायमा आधारित सङ्घ संस्थाहरू सबैभन्दा बलिया छन् खासै समस्या छैन’ उनले भने ‘सहरका ठुला ठुला वित्तीय संस्थाहरू समस्या छ, बन्द भएका छन्, निक्षेप फिर्ता गर्न सकेका छैनन् ।’
गत आर्थिक वर्ष २०७९ र ८० को असार मसान्तसम्म संस्थाको लगानी ८१ करोड ६५ लाख २८ हजार रहेको थियो । भने असुली ९४ करोड ७१ लाख २९ हजार रहेको छ ।
साथै व्याज असुली १९ करोड २५ लाख २७ हजार , संस्थाको लगानीमा रहेको ऋण १ अर्ब २१ करोड ७४ लाख ७२ हजार, असुलीदर ९६ दशमलव २४ प्रतिशत, संस्थाको सेयर पुँजी ९ करोड ८२ लाख ८ हजार,निक्षेत्र १ अर्ब १६ करोड ९८ लाख र संस्थाको मुनाफा ३ करोड ८७ लाख ७२ हजार रहेको छ ।
वरिष्ठ प्रबन्धक जमरकट्टेलले चालु आर्थिक वर्षमा संस्थाले १ अर्ब २३ करोड लगानी गर्ने गर्ने लक्ष्य राखेको बताएका छन् ।
चालु आवमा संस्थाको साँवा असुली लक्ष्य भने १ अर्ब १० करोड, व्याज असुली २० करोड ६८ लाख र मुनाफा ५ करोड ५७ लाख पूर्याउने लक्ष्य रहेको जनाइएको छ ।
मधेस प्रदेशमै सबैभन्दा ठुलो आर्थिक कारोबार रहेको सो सहकारीमा महिला सदस्य मात्रै ७ हजार ८४१ जना रहेका छन् भने पुरुष सदस्य सङ्ख्या ५६१ जना रहेका छन् ।