भण्डारी सुज सेन्टरको गोदामबाट सल्किएको आगो अरु पसलका गोदाम हुँदै सँगै जोडिएको सारथी अस्पतालसम्म पुगेको थियो। आगलागिबाट सारथी अस्पताल पूरै जलेको छ।
स्वास्थ्य उपकरणहरु, अस्पतालको फर्निचर, फार्मेसीमा राखिएका औषधी र अरु उपकरणहरु जलेका छन। सारथी अस्पतालका सञ्चालक बेद प्रकाश जोशीले अस्पतालमा झण्डै साढे ५ करोडको क्षति भएको जनाएका छन।
‘महंगा महंगा उपकरणहरु जलेका छन। केही सामान बाहिर निकाले पनि हतारमा तारहरु चुडालेर निकाल्दा काम नलाग्ने भएका छन।
अस्पतालमा साढे ५ करोडको क्षति भएकाे अनुमान गरिएको छ’ सञ्चालक जोशीले जनाए।उनले अस्पतालको भवनसँगै जोडिएको भण्डारी सुज सेन्टरको गोदामबाट आगो सल्किएको बताए।
‘गोदाममा जुत्ता चप्पल थिए। सबै प्लास्टिकका सामान भएकाले आगो नियन्त्रणमा लिन गाह्रो भयो’ जोशीले भन्नु भयाे।
अस्पतालको आईसीयु र अरु जनरल वार्डमा रहेका ५ जना बिरामीलाई भने आगलागी भएपनि नजिकै रहेको सेती प्रादेशीक अस्पतालमा सारिएको थियो।
सेती प्रादेशीक अस्पताल र सारथी अस्पतालको दुरी झण्डै सय र डेढ सय मिटरको रहेको छ। नजिकै भीषण आगलागी भएपनि सेती प्रादेशीक अस्पतालको ईमरजैन्सी वार्डमा भर्ना भएका बिरामी पनि अन्यत्र सारिएका थिए।
सारथी अस्पतालपछि बढी क्षेत्री भण्डारी सुज सेन्टरको गोदाममा भएको छ।
गोदाममा रहेका झण्डै साडे ४ करोडका जुत्ता चप्पल जलेर खरानी भएको सञ्चालन दल बहादुर भण्डारीले जानकारी गराउनु भयाे।
‘दशैं तिहारका बेला भएकाले सामान धेरै मगाइएको थियो। होलसेलमा जाने सामानको गोदाम पनि त्यही हो। तार सर्ट भएर आगलागी भएको अनुमान गरेका छौं’ भण्डारीले भने।
यस्तै आगलागीबाट गोदामसँगै जोडिएका मधुमाला बेबी सोप, भट्ट सपिङ सेन्टर, न्यु सदीक्षा बेबी सप र भट्ट ट्रेडर्सको गाेदाममा पनि क्षति भएको खबर छ।
नेपाल प्रहरीको मुचुल्का टोली अहिले घटनास्थलमा छ। प्रहरीले क्षतिको पूर्ण विवरण तयार गर्दैछ। तर प्रारम्भिक रुपमा करिब १३ करोड क्षतीको अनुमान गरिएको छ।
सारथी अस्पताल, खाद्य संस्थानको पुरानो गोदाम भाडामा लिएर सञ्चालनमा थियो। भवनको क्षतिबाहेक मात्रै १३ करोडको क्षति भएको बताइएको छ। राति १ बजेतिर आगलागी भएकाले बढी क्षति भएको छ ।
गोदाममा आगो दन्किएपछि मात्रै अस्पतालका कर्मचारीहरुले थाहा पाएका थिए। त्यसपछि उपमहानगरको प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको करिब २ सय जनाको टोली आएर आगो निभाएको थियो।
आगो निभाउन धनगढी उपमहानगरका दुई वटा, पुर्नबास नगरपालिका र गोदावरी नगरपालिकाका एक र एक गरी ४ वटा दमकल प्रयोग गरीएकाे थियाे।