बीरगंज ३० कार्तिक । अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपूर्ण पर्व छठको तयारी बीरगंज सहित मधेशको जिल्लाहरुमा सुरु भएको समाचार छ।
मधेशको मुख्य पर्वहरुमध्ये भाेजपुरा, मिथिला तथा थारु महिलाहरुको विशेष कठोरताको पर्वको रुपमा रहेको छठको तयारी सुरु भएका छन।
नियम निष्ठा र विधि विधान पूर्वक मनाइने साझा सांस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरुको जोहो र किन मेल गर्न सर्वसाधारण अहिले व्यस्त रहेका छन्।
बाँसका डाला, नाङ्गलो, ढकिया, सुपली र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न सर्वसाधारण बजारमा व्यस्त देखिन्छन्।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्मापन हुनेछ।
छठ पर्व ब्रत अवधि भरी माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल गायतका खाद्यवस्तुहरु अनिवार्य रुपमा बार्ने प्रचलन रहेको छ।
छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक रहेको छ।
यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कता पूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुकाएर, पिधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्व भन्दा फरक बनाएको हो ।
मधेशी समुदायका बीचमा मनाइँदै आएको छठ पर्व केही वर्ष यता देखि पहाडी समुदायमा समेत लोकप्रिय हुँदै गएको हाे।
मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणकालागि मनाईने छठ पर्वलाई भव्यता प्रदान गर्न बीरगंजकाे घडिअर्वा पाेखरी, स्विमिङ्ग पुल, नगवा पाेखरी, छपकैया पाेखरी, मुर्ली पाेखरी, बाराकाे नेवतन पाेखरी लगायत सिरिसिया नदी किनार पर्सा, बाराका दर्जनाै गाउबस्तीका बासिन्दाहरूले धुमधामले मनाउने गरेका छन ।
भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा रहेको छ।
छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ।
साझमा दिने अर्घलाइ साझके अर्घ भनिन्छ ।
पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ।
बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’भनिन्छ। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।