ads
neelambads

विद्युतकाे लाइन काटेर ५० करोड रुपैयाँ असुली, महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

 

बीरगंज २२ कात्तिक। नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको समाचार छ ।

प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको खबर छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने जनाए ।

असुल उपर गर्नु पर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महसुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् ।

विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औं दिन देखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ ।

मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३० औं दिनसम्म ५ प्रतिशतका दरले र ३१ औं दिनदेखि ४० औं दिन सम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । 

लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६० औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्ध रुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुल उपर गर्ने रणनीति लिइएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएकाे छ ।

तिहारपछि लाइन काट्ने कामलाई अझै तीब्रताका साथ अगाडि बढाइने भएकाले समयमै महसुल तिरी सजक र जिम्मेवार बन्न ग्राहकहरुलाई अनुराेध गरेकाे छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads