बीरगंज १० माघ । निरन्तर बाक्लो हुस्सु र तुुसारो लागेपछि पर्सा, बारा, राैतहट, सर्लाही लगायत अधिकांश मधेशकाे जिल्लामा बसाेबास गर्ने सर्वसधारणहरूकाे जनजीवन कष्टकर बनेको छ ।
बुधबारदेखि पर्सा, बारा, राैतहट, सर्लाही लगायत अधिकांश मधेशकाे जिल्लामा घाम लाग्न सकेको छैन । रातदिन निरन्तर बाक्लो हुस्सु र तुसारोका कारण अत्याधिक चिसाेले सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् ।
कठ्याङग्रिँदो चिसोले विद्यालय जाने बालबालिका, कर्मचारी, किसान, मजदुर लगायत प्रभावित बनेका छन् । बाक्लो हुस्सु र तुुसारोमा बालबालिका कठ्याङग्रिँदै विद्यालय जाने गरेको देखिन्छ ।
जाडो बिदा सकिएर यहाँका विद्यालय एक सातादेखि पुनः सञ्चालनमा आएकोमा अत्यधिक जाडो बढेपछि पठनपाठन सञ्चालन गर्नै समस्या परेको छ ।
अत्यधिक चिसो हुँदा बिधालयमा पठनपाठन सञ्चालन गर्न समस्या भएकाेले मधेश प्रदेशकाे अधिकांश बिधालयहरूले बालबालिकाहरूलाइ बिदा समेत दिइएका छन ।
चिसोले शिशु, बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी र शारीरिक अवस्था कमजोर रहेका मानिस बिरामी पर्न थालेका छन् । अस्पतालमा अधिकांशमा ज्वरो र रुघाखोकीको समस्या देखिएको छ ।
चिसो लागेर मानिसलाई ज्वरो तथा रुघाखोकी आउँदा एक हप्तासम्म समस्या देखिएको छ । घाम नलागेर निरन्तर तुसारो चल्दा किसानलाई गाईवस्तु तथा पक्षीलाई चिसोबाट जोगाउन मुस्किल परेको छ ।
घाम नलागेर असाध्य चिसो हुँदा वस्तुुभाउलाई घाँस तथा आहारा जुटाउन समस्या परेको किसानले गुनासो गरेका छन् । चिसो बढ्दा सडक बजारमा मानिसको चहलपहल कम भएको छ ।
चिसोले जनजीवन असाध्य कष्टकर बने पनि स्थानीय तहले चिसो प्रभावित मानिसलाई राहत प्रदान गर्न कुनै वास्ता गरेका छैनन् ।
जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तिले केही दलित तथा विपन्न बस्तीमा सिरक, कम्बल र न्यानो कपडा वितरण गरेपनि सबै चिसो प्रभावित समक्ष न्यानो पुुग्न सकेको छैन ।
बाक्लो हुस्सु र तुसारोका कारण पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारी साधन दिउँसो समेत बत्ती बालेर गुड्ने गरेका छन् ।
सवारी चालकले सवारी साधन चलाउदा सवारी साधनकाे गति सिमित र बत्ती बालेर मात्र चलाएकाे सडकमा देखियाे ।
प्रतिक्रिया