बीरगंज १६ माघ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती पुलको स्टिल बिम चर्किएको समाचार छ ।
५५ वर्ष पुरानो पुलको स्टिल बिम अर्थात् ‘गिर्डर’ चर्किएर जोखिमपूर्ण अवस्था सिर्जना भएको छ । पुलको पूर्वतर्फ सात नम्बरको स्परमाथि जडान गरिएको बिम करिब आठ सेन्टिमिटर चर्किएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवले जनाए।
बिम चर्किएर सवारी साधन सञ्चालनमै समस्या आउने स्थिति पैदा भएको उहाँले बताए । अब पनि पुलमा एकै पटक धेरै मालवाहक सवारी गुडाइरहे जोखिम निम्तने इन्जिनियर यादवको तर्क रहेकाे छ ।
पुलमाथिबाट एक पटकमा एउटा मात्रै सवारी साधन सञ्चालनको व्यवस्था मिलाइ दिन माग गर्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सर्लाही र रौतहट दुवैतर्फका प्रहरीलाई पत्राचार नै गरेर सहयोग माग गरेका छन ।
प्रहरी स्रोतले भने पुलको स्थितिबारे सडक डिभिजन कार्यालयले कुनै पत्र नपठाएको जनाए ।
अहिले पनि जोखिमपूर्ण पुलबाट एकै पटक तीन र चार वटासम्म सवारी साधन वारपार गरि रहेका छन् । पुलको बिम चर्किएको बारे काठमाडौँस्थित पुल महाशाखालाई समेत जानकारी गराइ सकिएको सडक डिभिजन कार्यालयका इन्जिनियर यादवले बताए।
बारम्बार भत्किएर टाल्ने काम गरिँदै आएको बागमती पुलमा अहिले बिम नै चर्किए पछि यात्रु तथा सवारीचालकले जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
बागमती नगरपालिका–११ का स्थानीय भीमसेन थापाले पुलको बिम तत्काल मर्मत नगरिए अकल्पनीय दुर्घटनाको जोखिम देखिएको बताए ।
पुल जीर्ण बनेकोबारे सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई लामो समयदेखि ताकिता गर्दा पनि सुनुवाइ नभएको स्थानीयले आरोप लगाए । अहिले पुलको बिम नै चर्किएको धेरै दिन भइसक्दा पनि वास्ता नगरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरे ।
प्रतिक्रिया