बीरगंज २ फागुन। रौतहट र बाराको सिमानासँग जोडिएको भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला, झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएकाे समाचार छ ।
भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट, मौलापुर नगरपालिका, पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साह शुक्रबार बिहान भारतीय प्रहरीको नियन्त्रणबाट भागेका छन् ।
बिहान ६ बजे शौच गर्ने बहानामा थाना छेउको चौरमा लागिएको अवस्थामा साह भागेको भारतीय प्रहरीले जनाए ।
झरौखर थानाबाट नेपाली सिमाना दशगजा बढीमा ५०० मिटरको दुरीमा पर्छ ।
साह भागेपछि लगत्तै थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनायाे ।
मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार विनाहथकडी शौच गराउन लगेका चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डीएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरु गरेको खबर छ ।
बीआर १ पीबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा लुकाइ छिपाइ बाराबाट भारत तर्फ लागिरहेको अवस्थामा बिहीबार झरौखर चोक स्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले उनलाई नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया