बीरगंज २८ पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभाग अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको समाचार छ।
श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप(पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाए।
इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुरलगायतका विभिन्न स्थानमा घर जग्गा तथा गाडी खरिद, विभिन्न कम्पनीमा लगानी र विभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाइ स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप-पत्रमा उल्लेख गरीएको छ।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सो बाट बढे बढाएको सम्पत्ति समेत पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बुबा हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठकाे नाममा राखेको आयोगले दाबी गरेकाे छ।
आयोगले श्रेष्ठको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ( ग ), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ( ख ) बमोजिम जफतको माग गरेको छ ।
आयोगले श्रेष्ठकी पत्नी, बुबा, आमा र छोरालाई समेत प्रतिवादी कायम गरेको खबर छ।
प्रतिक्रिया