बीरगंज १८ माघ । गृहमन्त्री रमेश लेखकले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद् सचिवालयमा पेस गर्नुभएको समाचार छ ।
नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउनुपर्ने र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट पनि विभिन्न समयमा आदेशसहितको विषयलाई सम्बोधन गरी कार्यान्वयन गर्नुपर्ने भएकाले संशोधन विधेयक दर्ता गरिएको हो ।
नेपालको अन्तरिम संविधान, २०६३ मा जन्मका आधारमा नागरिकता प्रदान हुने व्यवस्था भई सोहीबमोजिम जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नेपालको नागरिकता प्रदान गर्ने व्यवस्था छ ।
सो व्यवस्थामा बाबु वा आमामध्ये कुनै एकले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मका आधारमा नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएको वा आमा सम्पर्कविहीन रहेको व्यक्तिका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न नेपाल नागरिकता ऐन, २०६३ को विद्यमान व्यवस्थामा परिमार्जन गर्नुपर्ने भएकाले उक्त विषय पनि विधेयकमा राखिएको गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख, सहसचिव भरतमणि रिजालले जनाए ।
प्रस्तावित विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा नरहेको भनी स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानेर वंशजका आधारमा नागरिकता प्रदान गर्न लागिएको हो ।
प्रमुख रिजालले भन्नुभयो, “कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको विवरणबिना नागरिकता पाउने र १६ वर्ष उमेर पूरा भएकालाई नाबालक परिचयपत्र प्रदान गर्ने सहितका विषय समावेश छन् ।”
प्रतिक्रिया