बीरगंज २ फागुन । मधेश प्रदेशकाे राजधानीमा २१ वटा निजी अस्पताल अनधिकृत रूपमा सञ्चालनमा रहेको समाचार छ ।
केही दिनअघि मात्र मुख्यमन्त्री सतिशकुमार सिंह सहितको टोलीले अनुगमन गर्ने क्रममा जनकपुरधामका २१ वटा निजी अस्पताल अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका पाइएको थियो ।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन गर्नुभएको थियो ।
यसरी सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन समेत गरी सक्नु भएकाे छ । अनुगमनमा मुख्यमन्त्री सतिश कुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी रहनु भएका थिए ।
तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेकाे थियाे ।
निर्देशन अटेर गर्ने एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनाए ।
मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान रहेकाे छ ।
प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति छैन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण समेत गरेका छैनन् ।
अनधिकृत सञ्चालित अस्पतालका सञ्चालकहरूले सरकारको अनुगमन विरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एशोसिएशन गठन गरेकाे खबर छ ।
प्रतिक्रिया