महोत्तरी २२ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन्।
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै उनले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताए ।
उनले भने, अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासविना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए । कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सिर्जना हुने उनले बताए ।
आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको पनि उनले बताए। उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायत योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
भने, अब अराजकता, बलमिच्याइँ र जालझेल चल्दैन । उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधानअनुसार चल्नुपर्नेमा जोड दिए।
आईएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । रासस
प्रतिक्रिया