बीरगंज १० पुस । चालु आर्थिक वर्ष २०८१ / ८२ को पाँच महिनामा नेपालगन्ज नाकाबाट केही जडीबुटीको निकासीमा अत्यधिक वृद्धि भएको समाचार छ ।
चालु आवको साउनदेखि मङ्सिरसम्म यस नाकाबाट रिट्ठा, खोटो, खयर कत्था र तार्पिन तेलको निर्यात अत्यधिक बढेको नेपालगन्ज भन्सार कार्यालयले जनायाे ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा रिट्ठा ४२१ प्रतिशत, तार्पिन तेल २३२ प्रतिशत, खोटो ८३ प्रतिशत र खयर कत्था ११ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार कार्यालयका अनुसार गत आवको पाँच महिनामा नेपालगन्ज नाकाबाट १४ करोड ५५ लाख ८० हजार रुपियाँको खोटो निर्यात भएकोमा चालु आवमा २६ करोड ७४ लाख ८८ हजार रुपियाँको निकासी भएको छ ।
यसै गरी गत आवमा १५ करोड ८७ लाख ५० हजारको खयर कत्था निर्यात भएकामा चालु आवमा १७ करोड २६ लाख ३२ हजार रुपियाँको निकासी भएको छ ।
सोही प्रकारले गत आवको पाँच महिनामा ३६ लाख ४४ हजार रुपियाँको रिट्ठा निर्यात भएकामा चालु आवको हालसम्म एक करोड ९० लाख सात हजार रुपियाँको रिट्ठा निकासी भएको छ ।
यस्तै तार्पिन तेल गत आवको पाँच महिनामा दुई करोड ५३ लाख ५८ हजार रुपियाँको निर्यात भएकामा चालु आवको सोही अवधिमा सात करोड दुई लाख ७७ हजार रुपियाँको निर्यात भएको छ ।
रिट्ठा, खोटो, खयर कत्था र तार्पिन तेल जस्ता जडीबुटी र तेलको निर्यात फेरि एक पटक वृद्धि हुन थालेपछि व्यवसायी उत्साहित भएको बताइएको छ ।
सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले धेरै समयपछि जडीबुटीको निर्यात फेरि बढ्न थालेको जनाए ।
प्रतिक्रिया