बीरगंज १ माघ । पटेर्वा सुगौली गाउँपालिकामा जिप र हात्ती सफारीसहित माघी ( खिचडी ) तथा भाथा महोत्सव मंगलबारदेखि सुरू भएको समाचार छ ।
माघी ( खिचडी ) पर्वको उपलक्ष्यमा पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ स्थित खेल मैदानमा मंगलबार देखि सुरू भएकाे माघी तथा भाथा महोत्सवको थारु समुदायका अगुवा एंव ज्येष्ठ नागरिक परमेश्वर गौरेले मंगलबार समुद्घाटन गर्नु भयाे ।
चाडपर्व मनाउने सँगै पालिकामा रहेको धार्मिक पर्यटकीय स्थल भाथा धामको प्रचार / प्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले तीन दिने माघी तथा भाथा महोत्सव आयोजना गरेको छ ।
मंगलबार देखि सुरु तीन दिने महोत्सवस्थलमा थारु समुदायका खानाका परिकार, मौलिक पहिरन र भेषभुषा, पालिकामा उत्पादन भइरहेका ढकिया – पथिया, दुना – टपरी, नारी सुरक्षा सेनेटरी प्याड, कृषि औजार लगायतको स्टलहरु प्रदर्शनीका लागि राखिएकाे थियाे ।
महोत्सव स्थलमै मंगलबार रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियाे। महोत्सवमा हरेक दिन थारु लोक संगीत र नृत्य सहितको सांस्कृतिक कार्यक्रम गरिने आयाेजकले जनाए ।
तीन दिने महोत्सवमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलभिभित्र रहेको पर्सा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीयस्थल दग्धेश्वरनाथ महादेव मन्दिर भाथा थामको प्रचार–प्रसार र पर्यटन प्रबर्धनका लागि जिप र हात्ती सफारीको पनि व्यवस्था गरिएको छ ।
महोत्सवस्थलदेखि भाथा धामसम्म जिप सफारी र जंगलभित्र हात्ती सफारीको व्यवस्था समेत गरीएकाे थियाे ।
जिप सफारीको शुल्क प्रति व्याक्ति ६ सय रुपैयाँ तथा जिप र हात्ती दुवैको सफारीका लागि प्रति व्याक्ति १ हजार २ सय रुपैयाँ कायम गरिएकाे थियाे ।
पर्सा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल भाथा धामको प्रचार / प्रसार सँगै पयर्टक प्रवर्द्धनका लागि महोत्सवमा जिप र हात्ती सफारीको प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले जनाए ।
तीन दिने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम गर्ने मूल समारोहले बताए ।
प्रतिक्रिया