वीरगंज ७ माघ । मधेश प्रदेशमा आर्थिक वर्ष २०८० / ८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको समाचार छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/ ८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेश प्रदेश) अनुसार आव २०७९/ ८० को तुलनामा आव २०८० / ८१ मा मधेश प्रदेशका आठ जिल्लामा माछाको उत्पादन पाँच दशमलव ०४ प्रतिशतले वृद्धि भएका छन ।
राष्ट्र बैंकका अनुसार आव २०७९ / ८० मा मधेश प्रदेशमा माछाको उत्पादन ४३ हजार ३ सय ८६ मेट्रिक टन भएकाे थियाे ।
मधेश प्रदेशमा भएको कूल माछा उत्पादनमा बारा जिल्लामा सबैभन्दा धेरै अर्थात २२ दशमलव ४३ प्रतिशत रहेकाे थियाे।
पर्सा जिल्लामा भएको माछा उत्पादन सबैभन्दा कम सात दशमलव ९९ प्रतिशत रहेको थियाे ।
पर्साको पकहाँमैनपुर गाउँपालिकामा केहीले माछापालन उद्योग सञ्चालन गर्दै आएका छन । माछा उत्पादनमा वृद्धि भए पनि माछाको उचित मूल्य बजारमा नपाएको ब्यवसायीहरूले बताउछन ।
‘विगतमा भारतबाटै माछाको आयात धेरै हुने गथ्र्यो । अहिले यहाँ माछाको उत्पादन बढेको छ । माछाको भुरा र माछापालन सम्बन्धित प्राविधिक ज्ञानको अभाव रहेको ब्यवसायीहरूले जनाए ।
राष्ट्र बैंकको प्रतिवेदनले माछा उत्पादन मात्रै नभएर यस प्रदेशमा दूधजन्य पदार्थको उत्पादनमासमेत वृद्धि भएको देखाउँछ ।
आव २०८०र- /८१ म मधेश प्रदेशमा दूधको उत्पादन एक दशमलव ९३ प्रतिशतले वृद्धि भई ६ लाख ५४ हजार एक सय २३ लिटर पुगेको छ ।
मधेश प्रदेशका आठ जिल्लामध्ये दूध उत्पादनको सबैभन्दा ठूलो भाग भने सिरहा जिल्ला रहेको छ ।
सो जिल्लाको हिस्सा २० दशमलव ४४ प्रतिशत रहेको छ, भने सप्तरी जिल्लाको हिस्सा सबैभन्दा कम सात दशमलव ८३ प्रतिशत रहेको छ ।
त्यस्तै मधेश प्रदेशमा मासुको उत्पादन दुई दशमलव ९८ प्रतिशतले वृद्धि भई एक लाख ४३ हजार ६ सय ७० मेट्रिक टन पुगेको छ ।
मधेश प्रदेशमा अण्डाको उत्पादन पनि बढेको देखिन्छ । आव २०७९ / ८० को तुलनामा मधेश प्रदेशमा अण्डाको उत्पादन पनि दुई दशमलव ७९ प्रतिशतले वृद्धि भई १० करोड ६९ लाख ३९ हजार गोटा उत्पादन भएको छ ।
प्रतिक्रिया