पर्सा ३ फागुन । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको खबर छ ।
जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न शुरू गरेकाे हाे ।
डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्नका लागि विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जनाए ।
“माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ ।
यसले सामुदायिक वनमा बाघ, चितुवालगायतका जङ्गली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्जभित्र क्यामेरा ट्रयापिङ सामान्यजस्तै भए पनि साझेदारी वनमा भने जिल्लामै पहिलोपटक जडान गरिएको हो ।”
पर्सा जिल्लामा सबैया, बढनिहार र मानवा सवडिभिजन कार्यालय मातहतका क्षेत्रमा तीन–तीन वटा क्यामेरा क्यामेरा ट्रयापिङ जडान गरीदैछ ।
त्यस्तै रङ्गपुर, भतौडामा पनि एक–एक र अन्य एक ठाउँमा पनि क्यामेरा ट्रयापिङ जडान कार्य भइरहेको छ । क्यामेरा ट्रयापिङले २४ औँ घण्टा बाघलगायतका जङ्गली जनावरको गतिविधिलाई फोटो खिच्नेछ ।
सो क्यामेराको दैनिक १६ जिपीको क्षमताको तस्बिर खिच्न सक्ने क्षमता रहेको छ । रङ्गपुर सबडिभिजन कार्यालयका फरेष्टर पुरूषोत्तम प्रसाद पटेलले क्यामेरा ट्रयापिङले बाघ, चितुवालगायतको गतिविधि विश्लेषण गर्न पनि मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
डब्लुडब्लुएफको सहयोगमा सो क्यामेरा जडान गरिएको छ।
प्रतिक्रिया