बीरगंज २ असोज । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको समाचार छ ।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५ औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनायाे ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल – भारतबिचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नु भएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराउनुभयो ।
यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्नुभएको थियो । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने जनाउनुभएको थियो ।
छिमेकी दुई देशका सरकार प्रमुखहरूबिच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनायाे ।
भारतका प्रधानमन्त्री मोदीले शुक्रबार नेपालले मनाउने संविधान दिवसको शुभकामना समेत दिनुभयाे । कार्कीसँगको फोनवार्तापछि सामाजिक सञ्जालमा लेख्दै उहाँले शुभकामना दिएको जनाए ।
प्रतिक्रिया