कन्हैया गुप्ताबाट
बीरगंज २१ श्रावण । सर्लाहीको सदरमुकाम मलङ्गवाबाट अनुदानको मलखाद कालोबजारी गरी बिक्री गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मलङ्गवा–१० स्थित कृष्ण जेनरल स्टोरबाट अनुमतिविना बढी मूल्यमा DAP मल बिक्री गरिरहेका मलङ्गवा–७ का २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन राय पक्राउ परेका हुन्। उनीहरूसँग सोधपुछ गर्दा उक्त मल मलङ्गवा–४ का २८ वर्षीय राहुल गुप्ताको पसलबाट ३,२०० रुपियाँमा खरिद गरी ३,५०० रुपियाँमा बिक्री गर्ने गरेको खुलेको थियो।
सोही बयानका आधारमा राहुललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले खानतलासी गर्दा उनीहरूबाट जम्मा चार बोरा DAP र आठ बोरा युरिया मल बरामद गरेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।





प्रतिक्रिया