राजविराज २१ श्रावण । सप्तरीको सहरी क्षेत्रमा खाना पकाउने एलपी ग्यासको चर्को अभाव भएपछि सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। ग्यास लिन बिहानैदेखि डिलर पुग्ने उपभोक्ताहरू सटर बन्द पाएपछि रित्तो हात फर्किन बाध्य भएका छन्।
सप्तरीका बजार क्षेत्रमा कोशी, प्रिमा, कन्काई, सुविधा, कामाख्या लगायतका ग्यास डिलरहरू रहे पनि अधिकांशले ‘ग्यास छैन’ भन्दै पसल बन्द गरेका छन्। फाट्टफुट्ट खुलेका डिलरहरूमा अत्यधिक भीड रहेको र धेरैजसो बिक्रेताको फोन सम्पर्क समेत हुन नसकेको स्थानीय उपभोक्ताको गुनासो छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवका अनुसार सुनसरीको देवानगञ्जमा भएको घटनापछिको बन्दका कारण ग्यास ढुवानी तथा आपूर्तिमा अवरोध पुगेको हो। हाल थोरै मात्रामा मात्र ग्यास आइरहेकाले माग धान्न नसकिएको र आपूर्ति पूर्ण रूपमा सहज हुन १० देखि १५ दिन लाग्न सक्ने उहाँले जानकारी दिनुभयो।
सप्तरीका सहरी क्षेत्रका करिब ७० प्रतिशत नागरिक खाना पकाउने ग्यासमा निर्भर रहेकाले यो अभावबाट विशेष गरी दैनिक ज्यालादारी गर्ने मजदुर, वृद्धवृद्धा र साना परिवार बढी प्रभावित भएका छन्।





प्रतिक्रिया