काठमाडौँ, असोज २ गते । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मङ्गलबार भएको आगजनीबाट अकल्पनीय रूपमा सार्वजनिक सवारीसाधन नष्ट भएकाे समाचार छ।
विभिन्न निकायले स्थलगत रूपमा प्रदेशगत आधारमा गरेको अध्ययनमा तीन हजारभन्दा बढी सवारीसाधन जलेर खरानी भएका छन् ।
सातै प्रदेशमा गरेर सानाठुला गरी एक हजार २६ वटा चारपाङ्ग्रे गाडी एक हजार ९८३ मोटरसाइकल र स्कुटर जलेर नष्ट भएकाे छ । यो सङ्ख्या प्रारम्भिक मात्र रहेकाे छ ।
चारपाङ्ग्रेमा साना अन्तर्गत कार, जिप, भ्यान र ठुला अन्तर्गत डोजर, लोडर, दमकल पनि परेका छन् । सुदूरपश्चिममा तीनपाङ्ग्रे सवारी साधन पनि जलाइएका छन् ।
सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरकारी संरचनाले वास्तविक क्षतिको मूल्याङ्कन गरिरहेका छन् तर भवन तथा दस्ताबेज पनि जलेर नष्ट भएको अवस्थामा गणना गर्न कठिन रहेको छ ।
वास्तविक विवरण आउन अझै निकै समय लाग्ने छ । यसअघि एक सरकारी संचारगृहले भदौ ३१ गतेको अङ्कमा यसै गरी मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट ४४० वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४१ वटा सवारीसाधन नष्ट भएको विवरण प्रकाशित गरेको थियो । त्यो पनि माथि उल्लेख गरिएको विधिबाट निकालिएको मोटामोटी तथ्याङ्क हो ।
दुवै विवरण अनुसार एक हजार ४६७ गाडी र दुई हजार ५८४ वटा मोटरसाइकलरस्कुटर जलेर नष्ट भएकाे छन् । समग्र विवरणमा यो सङ्ख्या थपिने अनुमान छ ।
गोरखापत्रले प्रदेशगत आधारमा विभिन्न सरकारी कार्यालयबाट सङ्कलन गरेको तथ्याङ्क र हाम्रा समाचारदाताबाट स्थलगत अवलोकनका आधारमा निकालिएको तथ्याङ्क तालिकामा दिइएको छ ।
प्रतिक्रिया