वीरगंज २३ असाेज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छली गरेकाे रु ६ करोड ६८ लाख ८१ हजारकाे बिभिन्न माल सामान बरामद गरेको समाचार छ ।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु ४ करोड ३३ लाख ५७ हजार पाँच सय ६८ काे माल सामान वीरगंज भन्सार कार्यालयमा दाखिला गरेका छन ।
त्यस्तै साउन र भदौ महिनामा विलविजक भन्दा बढी सामान भएका रु २ करोड ३५ लाख २३ हजार पाँच सय ८२ काे माल सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
जबकी सशस्त्र प्रहरीले आ.व २०८१/८२ को साउन र भदौ महिनामा भने भन्सार छली गरेका ७ करोड १० लाख २१ हजार आठ सय ६१ काे माल सामान वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको थियाे ।
त्यस्तै गत आ.व.को दुई महिनामा रु १ करोड ९२ लाख ५३ हजार छ सय ८७ मूल्य पर्ने बिलविजक भन्दा बढी भएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेसँगै भन्सार छली तथा बिलविजक भन्दा बढीका सामान बरामद हुने क्रममा केही कमी आएको जनाएका छन ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेसँगै वीरगंज भन्सारको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको उहाँले बताउनु भयाे । भन्सार छलीका सामान धेरै भित्रिदा भने राजस्व सङ्कलनमा कमी हुने गरेकाे गणपति भट्टले जनाए ।
गणपति भट्टले पर्साको सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावति अवैध चोरी पैठारी र निकासी नियन्त्रणका लागी आवश्यक काम गर्दै आइरहेको बताए । वीरगंज भन्सार कार्यालयले चालु आ.व.को दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको जनाए ।
प्रतिक्रिया