बीरगंज २० चैत्र । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्य लगातार बढेपछि नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको समाचार छ।
कच्चा तेलको भाउ मध्यपूर्वमा जारी युद्धका कारण उकालो लागेपछि निगमले चैत १९ गतेको निर्णयअनुसार आजैदेखि लागू हुने गरी मूल्य समायोजन गरेका छन।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको छ। नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १८२ रुपैयाँ कायम गरिएको छ। अन्य क्षेत्रहरूमा पनि सोही अनुपातमा मूल्य बढाइएको निगमले जनाएको छ।
मूल्य वृद्धि गरे तापनि निगमले आफू अझै ठूलो घाटामा रहेको दाबी गरेको छ। भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका कारण स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू गर्न नसक्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँभन्दा बढी घाटा कायमै रहने देखिएको छ।
यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ४०० रुपैयाँभन्दा बढी घाटा रहेको छ।
यो समायोजन नभएको भए निगमलाई पाक्षिक रूपमा १३ अर्ब रुपैयाँभन्दा बढी घाटा हुने अवस्था थियो, जुन अहिले घटेर करिब ११ अर्बमा झर्ने अनुमान गरिएको छ।
निगमले आपूर्ति व्यवस्थापन सहज बनाउन र समयमै भुक्तानी गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै उपभोक्ताहरूलाई इन्धनको मितव्ययी प्रयोग गर्न विशेष आग्रह गरेको छ।





प्रतिक्रिया