वीरगन्ज २१ मंसिर । पर्सामा एक बलात्कारको घटना सार्वजनिक भएको छ। १८ वर्षीया एक किशोरीले आफैलाई बन्धक बनाएर २ युवकले बलात्कार गरेको आरोप लगाएकी छिन्।
पीडित किशोरी र उनको परिवारले दिएको जानकारीअनुसार उनलाई २० दिनसम्म बन्धक बनाएर दुई युवकले बलात्कार गरेका हुन्।
किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले कुकर्म गरेको आरोप लगाइएको छ।
पीडित किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे ट्युसन पढ्न जाने क्रममा किशारीलाई बाटोबाटै रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगंजको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए।
सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक–पटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्।
मंसिर १३ गते भने ती किशोरी वीरगंजबाट भागेर गाँउको घरमा पुगेको उनका अभिभावकले बताएका छन्। पीडित किशोरी भागेर घरमा आएकै दिन इलाका प्रहरी कार्यालय पोखरीयामा पीडकहरुविरुद्ध जाहेरी दिंदा प्रहरीले जाहेरी दर्ता नगरेको पीडित किशोरीका बुबाले बताए। आफूहरुले दवाव दिएपछि भने मङ्गलबार मात्र प्रहरीले जाहेरी दर्ता गरेको उनले बताए।
आर्थिक लेनदेनमा घटना गुपचुप राख्न दबाब आएको पनि पीडित पक्षको आरोप छ। घटनामा संलग्न भनिएका दुई युवकहरु पक्राउ परिसकेका छन्।
दुबै युवकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। अनलाइन खबर