बीरगंज १४ माघ । भन्सार छलेर नेपाल ल्याई अवैध रूपले गोदाम जम्मा गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपियाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका माल सामानहरू सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार छापा मारेर बरामद गरेको समाचार छ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित रहेकाे दुई वटा पक्की घरको भुइँ तल्लामा अवैध रूपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लिखित माल सामानहरु बरामद गरेका छन ।
भन्सार छलेर नेपाल ल्याई अवैध रूपले राखिएको गाेदाम सीमा नाकाबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको माल सामानमा ४९ लाख ७२ हजार २ सय रुपियाँ बराबरको लत्ताकपडा र एक लाख २१ हजार ५ सय रुपियाँ बराबरको हार्डवेयरको सामानहरू रहेको छ ।
बरामद गरिएको माल सामानहरू आवश्यक कारबाहीकालागि सशस्त्र प्रहरीले भन्सार कार्यालय वीरगंजमा बुझाइएको खबर छ ।
प्रतिक्रिया