बीरगंज १ माघ । मधेश प्रदेशकै गौरवको आयोजना मानिएको बर्दीबासस्थित रामजानकी फनपार्क निर्माणको चरणमा प्रवेश गरेको समाचार छ ।
नगरपालिकाले वडा नं १४ स्थित रातु नदीको तटवर्ती क्षेत्रमा रामजानकी फनपार्क निर्माणकालागि जग्गा व्यवस्थापन प्रक्रिया सुरु गरेको छ ।
नगर प्रमुख प्रहलाद क्षेत्रीले बर्दीबासको पहिचान, पर्यटन र संस्थागत विकासमा टेवा पुर्याउने उद्देश्यले रामजानकी फन पार्क निर्माणको योजना अघि सारेको बताए ।
रातु किनाराको ४० बिघा क्षेत्रफलमा निर्माण हुने रामजानकी फन पार्ककोे प्रारम्भिक लागत ४२ करोड रुपियाँ अनुमान गरिएको छ ।
यसकालागि नगरपालिकाले जग्गा व्यवस्थापनको औपचारिक प्रक्रिया सुरु गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार फनपार्क निर्माणकालागि आवश्यक ३९ बिघा जग्गामध्ये ३६ बिघा ऐलानी र सवा ३ बिघा जति नम्बरी जग्गा रहेका छन् ।
नम्बरी जग्गा अधिग्रहणका लागि नगरपालिकाले पत्र - पत्रिकामा सार्वजनिक सूचना समेत प्रकाशित गरी प्रक्रिया अघि बढाइ सकेको उनले जनाए ।
ऐलानी जग्गा उपयोगकालागि पनि बर्दीबास मालपोत कार्यालय मार्फत प्रक्रिया सुरु भइ सकेको छ ।
मालपोतबाट जिल्ला प्रशासन र अभिलेख विभाग हुँदै मन्त्रिपरिषद्को निर्णयले यसको टुङ्गो लाग्छ । त्यसपछि मालपोत र नगरपालिकाबिच जग्गा अधिग्रहणका लागि सम्झौता हुने कानुनी प्रावधान छ ।
उनले भन्नुभयो, ‘‘जग्गा अधिग्रहणका लागि बर्दीबास मालपोतमार्फत प्रक्रिया अघि बढी सकेकाले सम्भवतः केही समयपछि नै हामी संरचना निर्माण सुरु गर्नेछौं ।’’
आफैँमा महत्त्वाकाङ्क्षी योजना मानिएको यो पार्कको डिपिआर पनि तयार भइसकेको छ ।
ग्रिन टेक कन्सलटेन्ट प्रा.लि.ले तयार पारेको डिजाइन अनुसार पार्कमा जनकपुरको प्रसिद्ध जानकी मन्दिरलाई प्रतीकात्मक रुपमा डिजाइन गरिएको छ ।
यसैको महत्त्व दर्शाउन पार्कको नाम नै ‘रामजानकी’ राखिएको हो ।
यसकासाथै जलक्रीडाकालागि वाटर फन पार्क, वनवाटिका ( बोटानिकल पार्क ), बाल मनोरञ्जन, सांस्कृतिक सङ्ग्रहालय, रेस्टुरेन्टलगायत मनोरञ्जनका विविध आयाम समायोजन गरिएको डिपिआरमा उल्लेख छ ।
सार्वजनिक चासो र चर्चाको विषय बनेको रामजानकी फन पार्कलाई एकैपटक ५० हजार आगन्तुकले अवलोकन गर्न सकिने कन्सलटेन्टका इन्जिनियर आश्रम श्रेष्ठले बताउनुभयो ।
उनका अनुसार फन पार्कको संरचना ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी डिजाइन गरिएको छ । पार्कमा विविध मनोरञ्जन, आधुनिक सुविधा र स्वेर परिकल्पनासाथ संरचना डिजाइन गरिएको श्रेष्ठले जनाए ।
परियोजनालाई नगर कार्य समितिको बैठकले पनि सर्वसम्मत अनुमोदन गरेकाले कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए ।
नगर प्रमुख प्रह्लाद क्षेत्रीले मनोरञ्जन मानवको मौलिक हक भएकाले यसलाई मूर्तरुप दिन रामजानकी फन पार्कको परिकल्पना गरिएको जनाए ।
प्रतिक्रिया