वीरगंज ४ फागुन । बारामा ट्रकको ठक्करबाट आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको समाचार छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २ स्थित शुभलाभ ट्रेडर्स अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक उदित नारायण झाको मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जनाए ।
पथलैयाबाट वीरगंज तर्फ आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको बारा प्रहरीले बताए ।
यो दुर्घटनामा अर्का एक जना गम्भीर घाइतेसमेत भएको प्रहरी प्रवक्ता सापकोटाले जनाए । प्रहरीका अनुसार गम्भीर घाइते भएका जितपुरसिमरा–२ निवासी उत्पल आचार्यको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले बताए ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक धादिङ गजुरी–६ पोखरी खोला बस्ने सन्दीप भुजेल तथा सहचालक सोही ठाउँका सुशील थापालाई पक्राउ समेत गरेको खबर छ ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरीको हिरासतमा राखी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी गरायाे ।
प्रतिक्रिया