बीरगंज १२ फागुन । मकवानपुर प्रहरीले अवैध हतियार पेस्तोल सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेकाे समाचार छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा वडा नं. १५ बाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धिरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमार रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थामा थप २ थान गरी ३ गोली बरामद गरेको छ।
गौरबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई चेकिङको क्रममा अवैध हतियार सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
‘विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीको टोलीले चेकिङ गर्ने क्रममा पेस्तोलसहित दुईजना भारतीयलाई पक्राउ गरेकाे प्रहरीले बताए ।
‘प्रारम्भिक अनुसन्धानबाट हेटौँडामा कसैलाई दिने गरी ल्याएको भन्ने खुल्न अाएकाे छ ।
यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाए। अपराधिक क्रियाकलाप हुने स्थानमा यसअघि पनि हातहतियार किनबेच हुने गरेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया