वीरगंज १९ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साकाे मातहतमा रहेकाे प्रहरी चाैकी परवानीपुरका इन्चार्ज आदर्श खतिवडालाइ प्राप्त विशेष सूचनाको आधारमा चाैकीकाे प्रहरी टोलीले पर्साको परवानीपुरबाट नेपाली रु. १२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको समाचार छ।
उनीहरूलाई हुण्डी कारोबारमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएका छन।
प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चाैकमा सवारी साधन चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३ – ०२९ प ४९७४ नम्बरको पल्सर मोटर साइकलमा सवार दुई जनामाथि शंका लागेपछि खानतलासी गरिएको थियो।
जिल्ला पर्सा, पकाहामैनपुर गाउँपालिका वडा नं. २ का २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत, बिहारस्थित बेतिया बकुलहर निवासी १९ वर्षीय सत्यम कुमारलाई चेकजाँच गर्दा सुरेशको झोलाभित्र लुकाइ छिपाइ राखिएको नगद रू.१२ लाख फेला परेको थियो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट फेला परेको नगद विवरण रू. १ हजार दरका ७ सय ७१ थान नोट जम्मा रू.७ लाख ७१ हजार र रू. ५ सय दरका ८ सय ५८ थान नोट जम्मा रू.४ लाख २९ हजार फेला परेको थियो।
पक्राउ परेका दुबै युवकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीकालागि जिल्ला प्रहरी कार्यालय, पर्सामा प्रहरी चाैकी परवानीपुरले बुझाएको छ ।
उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५९ क० अनुसार हुण्डी कारोबार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थपकाे अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी गराए।
प्रतिक्रिया