बारा १६ असार । बारा जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ नितनपुर स्थित बजरंगवली आयल इन्डष्ट्रिजमा कार्यरत मजदुरहरूबीच भएको झडपमा बैठाको मृत्यु भएकाे समाचार छ।
वीरगंज – पथलैया औद्योगिक करिडोरमा रहेको बजरंगवली आयल इन्डष्ट्रिजमा शनिबार भएको झडपमा पर्साकाे पोखरिया नगरपालिका वडा नं. १ बनकटवाका गोपी बैठाको मृत्यु भएको हो।
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले इन्डष्ट्रिजमै कार्यरत भारतकाे राजस्थान निवासी तेजपाल सिँह राजपुतलाई नियन्त्रणमा लिएको छ।
मृतकका दाइ कृष्ण कुमार बैठाले आफ्नो भाइलाई भारतीय मजदुर तेजपाल सिँह राजपुतका समूहले योजनाबद्ध रूपमा कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन्।
‘भाइले इन्डष्ट्रिजमा आफूमाथि कुटपिट भएको भनेर फोन गरेको थियो,’ कृष्ण कुमारले भने, ‘हामीले उसलाई इन्डष्ट्रिजबाट निकालेर वीरगंजको ब्योद्धा अस्पतालमा भर्ना गर्यौं।’
ब्योद्धामा उपचार सम्भव नभएपछि थप उपचारकालागि अन्यत्र लैजाने क्रममा भाइको बाटोमै मृत्यु भएको उनले जनाए।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय सिमराको टोली इन्डष्ट्रिजमा पुगेर तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो।
सोधपुछपछि दुई जनालाई छाडिएको र मुख्य अभियुक्त तेजपाल सिँह राजपुतलाई हिरासतमा राखिएको सिमरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बताए ।
प्रहरीले घटनालाई फरक कोणबाट पनि अनुसन्धान गरिरहेको छ। प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जोशीका अनुसार, दुई पक्षबीच कुटपिट भएको सत्य भए पनि मृतक बैठाले विष सेवन गरेको हुन सक्ने प्रारम्भिक आशंका छ।
‘उनीहरूबीच कुटाकुट हुँदा बैठाले विष सेवन गरेको पनि सुन्नमा आएको छ,’ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘मृत्युको वास्तविक कारण कुटपिट हो वा विष सेवन, त्यो पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुन्छ।’
प्रहरी इन्डष्ट्रिजमा पुग्दा बैठा निकै आवेशमा रहेको र उनको दाहिने कुहिनोमा चोट देखिएको प्रहरीले जनाएको छ। घटनाबारे गहिरो अनुसन्धान भइरहेको र दोषी जो कोही भए पनि कानुन अनुसार कारबाही गरिने प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जोशीले प्रतिबद्धता जनाए।
प्रतिक्रिया