बीरगंज २३ असार । नक्कली भारतीय नोट प्रकरणमा पटक – पटक कानुनी कठघरामा परेका युनुस अन्सारी सम्पत्ति शुद्धीकरण मुद्दामा पुन कारागार चलान भएकाे समाचार छ।
काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी धरौटी बुझाउन असफल भएका छन् ।
अदालतको आदेशअनुसार सोमबार बेलुकासम्म धरौटी बुझाउनु पर्ने भएपनि अन्सारीले रकम नबुझाएपछि कारागार चलान गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जनाए ।
अन्सारी नक्कली भारतीय नोट काण्डमा पहिल्यै दोषी ठहर भई कैद सजाय भुक्तान गरिसकेका छन् । तर, केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नोट प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण आरोपमा फेरि अनुसन्धान अघि बढाएको छ ।
जेलबाट छुट्ने बित्तिकै उनलाई सिआइबीले पुनः नियन्त्रणमा लिएको थियो । अन्सारीले आफू जेलबाट छुटेपछि पुनः पक्राउ गरिएको भन्दै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
तर, न्यायाधीश ऋषिराज भण्डारी र कवि प्रसाद न्यौपानेको इजलासले उक्त रिट खारेज गरिदिएको थियो ।
२०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए ।
उनी कतारबाट आएका तीन जना पाकिस्तानी नागरिकलाई लिन गएका थिए । ती नागरिकहरूले दुईवटा ब्रिफकेस भित्र नक्कली नोट बोकेका थिए ।
प्रतिक्रिया