बीरगंज ३१ भदाै । मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा मंगलबार दिउँसो नेपाली सेनाको एक ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएकाे समाचार छ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी गराएको छ।
तनहुँ स्थित नं. २ राजदल गणबाट धनुषा तर्फ जाँदै गरेको लु १ ग २८० नम्बरको ट्रक हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित चुरियामाईको पुलबाट करिब १०/ १२ फिट तल खोल्सामा खसेकाे खबर छ।
उपसेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा रहेको चार वटा ट्रकमध्ये एकवटा ट्रक दुर्घटनामा परेका छन। दुर्घटना ग्रस्त ट्रकमा २२ जना सैनिक सवार थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब २ ः ५० बजे दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
मकवानपुर र बारा दुवै तर्फका प्रहरी र नेपाली सेनाकै सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताएको छ। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनायाे ।
प्रतिक्रिया