बीरगंज ३१ भदाै । ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आउँदो फागुन २१ गतेका निम्ति तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको समाचार छ ।
बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्री कार्यदलमा रहेका छन् ।
हालको बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका निम्ति कार्यदल गठन गरएको अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जनाए ।
“चुनाव र पुनर्निर्माणका लागि केही बजेट चाहिन्छ ।
त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुनकुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो,” प्रवक्ता पाण्डेयले भने, “बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ ।
त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।”
सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले चालु आर्थिक वर्ष २०८२ / ८३ को बजेटमा राजनीतिक दबाबमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताए ।
सरकारले पूरक बजेट नल्याउने र हालकैमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनर्निर्माणका निम्ति करिब एक खर्ब रुपैयाँबराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो । रासस
प्रतिक्रिया