माेरङ्ग २८ भदाै । जेनजी आन्दोलनका नाममा विराटनगरको भाटभटेनी सुपर मार्केटबाट लुटिएका र चोरी गरिएका सामान फिर्ता गराउने अभियान सञ्चालन गरिएको समाचार छ ।
यो अभियान मार्फत शनिबार ६ घरबाट सामग्री फिर्ता भइसकेको छ । कतिपयले आफैं सामान बुझाइ रहेका छन् भने कतिपय ठाउँमा टोली पुगेर संकलन गरिरहेको छ ।
शनिबार त्रिमूर्ति चोकमा छापा मारेर समेत चोरीका सामग्री फिर्ता गराइएको थियो । सामाजिक अभियन्ता पारुल क्षेत्री भन्छन्, ‘विराटनगर सभ्य समाज हो भन्ने कुरा प्रमाणित गर्नुपर्छ भन्ने लागेर हामी अघि बढेका हौं ।
गलत गर्नेहरूलाई कारबाही हुन्छ भन्ने चेतना दिन र समाजमा नैतिक दबाब सिर्जना गर्न घर–घर पुगेर सामान संकलन गरिरहेका छौं ।’
क्षेत्री केही समय अघिसम्म राजनीतिमा सक्रिय थिए । नेकपा ( एमाले ) बाट नेकपा ( एकीकृत समाजवादी ) मा सक्रिय थिए ।
तर, राजनीतिबाट टाढा भएर विराटनगरमा वृक्षरोपण अभियान सञ्चालन गरिरहेका छन् । अहिले उनको समूह भाटभटेनी लुटपाट र चोरी गर्ने गिरोह विरुद्ध केन्द्रित छ ।
सामान फिर्ता गराउने अभियान सुरु गरेको छ । उनले विराटनगरका बासिन्दालाई चोरी गरेका सामान आफैं र तत्कालै फिर्ता गर्न आग्रह समेत गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले गत मंगलबार विराटनगरको भाटभटेनीमा आगजनी र लुटपाट मच्चाएको थियो ।
आगलागीले सुपर मार्केट ध्वस्त भएको छ भने विराटनगरसँगै धरान, दमक र बिर्तामोडका भाटभटेनीमा पनि समान घटना गराइएको थियो ।
धरानमा लुटपाट गर्न गएका ४ जनाको जलेर मृत्यु भएको अवस्थामा शुक्रबार शव भेटिएको प्रहरीले जनाएको छ ।
सामाजिक अभियन्ता क्षेत्रीको यो कदमले चोरी विरुद्ध नागरिक नैतिकताको बहस सुरु गराएको छ । उनी भन्छन्, ‘समाजलाई जो–कोहीले जे गरे पनि हुन्छ भन्ने बनाउन खोजिँदैछ ।
हाम्रो अभियान त्यो गलत कार्यविरुद्ध हो । त्यसैले लुटपाट र चोरी भएका सामान फिर्ता गराउन हामी आफैं अघि सरेका छौं ।’
प्रतिक्रिया