लहान २२ भदाै । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाचार छ ।
आज बिहान गोलबजार नगरपालिका वडा नं. ६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय राम कुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी रहेका हुन् ।
उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जनाए ।
सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट रु दुई लाख ८२ हजार ८०० बराबरको कपडा र रु दुई लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरेको छ । बरामद सामग्रीको मूल्य रु ५ लाख ३२ हजार ८०० बराबर रहेको खबर छ ।
सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी बढाएको छ ।
पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी जुटेको छ ।
प्रतिक्रिया