बीरगंज ५ कार्तिक । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र बहादुर सिंहलाइ बिहानै एक युवकले कुटपिट गरेको समाचार छ।
पथलैया स्थित राजमार्गमा सवारी चेक जाँचकालागि खटिएका सिंहमाथि बिहान करिब ३ बजे ट्रकमा सवार एक १७ वर्षीय युवकले कुटपिट गरेका छन्।
कुटपिटबाट प्रहरी सहायक निरीक्षक सिंहको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा लागेको घाउमा तीन वटा टाँका लगाएको जानकारी गराए।
उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। मधेश प्र ०३–००१ त ८९१४, मधेश प्र ०३–००१ त ८११२ र मधेश प्र ०३–००१ त ८८८५ नम्बरको ट्रक चेक जाँच गर्ने क्रममा विवाद भएपछि पर्सागढी नगरपालिका ५ बस्ने ती युवकले असई सिंहमाथि हातपात गरेका छन्।
उक्त ट्रकमा धान काट्ने मेसिन लोड गरेर ल्याएको थियो। असई सिंहले उक्त ट्रक रोकेर कागजपत्र जाँच गरिरहेका थिए। सो क्रममा विवाद भएपछि तीन वटामध्ये एउटा ट्रकमा सवार युवकले सिंहमाथि हातपात गरेका हुन्।
युवकलाई अहिले सिमरास्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।
घटनालगत्तै ट्राफिक प्रहरीले युवकलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएको थियो। युवकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले जनाए।
प्रतिक्रिया