सप्तरी ४ चैत्र। सप्तरी जिल्लामा सात वर्षीया बालिकाको अपहरण गरेर फिरौती मागेको इम्तियाज अहमदलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे समाचार छ।
सप्तरी जिल्ला अदालतको आदेशपछि अभियुक्त अहमदलाई पुर्पक्षका लागि सप्तरी कारागार राजविराज पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको खडक नगरपालिका – ८, बिसनपुरमा डेरा गरी बस्ने इमरान खानकी छोरी आसु खातुन भन्ने नेहा खातुनलाई गत फागुन ५ गते बेलुका करिब ७ बजे सोही नगरपालिका वडा नं. ९, सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदले माेटर साइकलमा राखी अपहरण गरेका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त टोलीले बालिकाको खोजतलास सुरु गरिएको थियो ।
प्रहरी टोलीले प्राविधिक तथा म्यानुअल दुवै माध्यमबाट अनुसन्धान अगाडि बढाइरहेको अवस्थामा फागुन ७ गते बिहान करिब ११ बजे अपहरणकारीले बालिकाका बुवालाई फोन गरी एक करोड रुपियाँ नगद र पाँच किलो सुन फिरौती माग गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार फिरौती लिन रूपनी गाउँपालिका–१, खाँडो खोलामा बोलाइएपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले सोही दिन साँझ अभियुक्तलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका अहमदलाई थप अनुसन्धान, अपहरण, शरीर बन्धक तथा मानव ओसारपसार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।
सप्तरी जिल्ला अदालतले मङ्गलबारको दिएको आदेश अनुसार अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय सप्तरी पठाइएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।





प्रतिक्रिया