कन्हैया गुप्ताबाट
बीरगंज २४ श्रावण । लगातारको वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरूमा पहिरो, बाढी, सडक कटान र हिलोका कारण यातायात सेवा नराम्ररी प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि केही सडकमा रात्रिकालीन travel मा रोक लगाइएको छ भने केही राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्।
रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएका सडकहरू
बीपी राजमार्ग (काभ्रेपलाञ्चोक – सिन्धुली) : बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक – कटुन्जेबेँसी हुँदै सिन्धुलीसम्मको सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन हुन दिइनेछ।
कान्ति लोकपथ (मकवानपुर): वर्षाका कारण जोखिम बढेपछि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
पूर्ण रूपमा अवरुद्ध प्रमुख राजमार्ग तथा सडक खण्डहरू
मेची राजमार्ग (इलाम): इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा अत्यधिक हिलो जमेकाले यातायात ठप्प भएको छ। (यहाँ वैकल्पिक सडकको प्रयोग गर्न सकिनेछ।)
अरनिको राजमार्ग (सिन्धुपाल्चोक):
भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेकाले सडक अवरुद्ध।
भोटेकोशी गाउँपालिका–२ कोदारीमा लेदो र ढुङ्गासहितको पहिरो खसेको।
भोटेकोशी गाउँपालिका–२ लिपिङमा सडक भासिएकाले सवारी साधन चल्न नसक्ने अवस्था।
पासाङ ल्हामु राजमार्ग (रसुवा): उत्तरगया गाउँपालिका–५ खाल्टे (त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक) मा त्रिशूली नदीले मुनिबाट सडक कटान गरी पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।
भेरी करिडोर (रुकुम पश्चिम): जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा माथिबाट लेदो र ढुङ्गासहितको पहिरो खस्दा सडक बन्द भएको छ।
मध्यपहाडी लोकमार्ग (तेह्रथुम): लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवा खोलानजिकै करिब ३५ मिटर माथिबाट ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ।
प्रहरीको अपिल: वर्षा जारी रहेकाले अन्य जोखिमयुक्त सडक खण्डहरूमा पनि जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना छ।
त्यसैले, यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित प्रहरी कार्यालय वा सडक निकायसँग सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ। अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया