बीरगंज २४ श्रावण । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएका छन्। घरबाट निस्किएपछि हराएका सिंहको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोन प्रयोग गरेर गहन खोजी कार्य जारी राखेको छ।
प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नो निवासबाट निस्किएका थिए।
दिउँसो ३:२७ बजेतिर उनी रामराज पुलसम्म पुगेको चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा देखिएको छ।
त्यसपछि करिब साढे तीन बजे उनले आफू निकटका व्यक्तिहरूलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएँ’ भनी जानकारी गराएका थिए। त्यसपछि उनीसँग सम्पर्क हुन सकेको छैन।
राजमार्गबाट ८ किमी भित्र मोटरसाइकल फेला
सिंह सम्पर्कविहीन भएपछि उनका आफन्त र प्रहरी टोली खोजीमा निस्किएका थिए। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको छ।
केनाइन शाखाका कुकुर र ड्रोनबाट निगरानी
घटनाबारे जानकारी दिँदै कपिलवस्तु प्रहरी प्रमुख (एसपी) मनोहरप्रसाद भट्टले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखाबाट ट्र्याकिङ डग (तालिमप्राप्त कुकुर) सहितको प्राविधिक टोली ल्याएर गोरुसिंगे क्षेत्रको जंगलमा सर्च अपरेसन चलाइएको बताए।
साथै, सम्भावित क्षेत्रहरूमा ड्रोनमार्फत समेत निगरानी भइरहेको छ।
सिंहले सो क्षेत्रमा माछापोखरी र कुखुरापालन फार्म निर्माण गरिरहेका थिए। फार्मतर्फ जाने क्रममा जंगलमा बाटो बिराएर हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले अन्य सबै सम्भावित पाटोहरूलाई खुला राखेर अनुसन्धान अघि बढाएको छ।
एसपी भट्टका अनुसार स्थानीयबाट प्राप्त सूचना, घरपरिवारसँगको समन्वय र प्राविधिक (टेक्निकल) विश्लेषणका आधारमा खोजी कार्यलाई तीव्र पारिएको छ।
तर, हालसम्म पूर्वमेयर सिंहको कुनै अत्तोपत्तो पाउन सकिएको छैन।





प्रतिक्रिया