कन्हैया गुप्ताबाट ।
बीरगंज २४ श्रावण । टाटा गाडीका नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्टको अवैध कारोबार गरी उपभोक्ता ठगी गरेको अभियोगमा राजकुमार पोते पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले बनेपास्थित पोतेको 'नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि.' को पसल तथा गोदाममा छापा मारी करोडौँ मूल्य बराबरका अवैध तथा नक्कली पार्टपुर्जा बरामद गरेको हो।
प्रहरीले बनेपामा रहेको उक्त पसल र १० वटा गोदाममा सिलबन्दी गर्दै पोतेलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका पोते यसअघि पनि पटक-पटक राजस्व ठगीका विभिन्न घटनामा संलग्न भई कारबाहीमा परिसकेका व्यक्ति हुन्।
अवैध रूपमा आयात गरिएका यस्ता नक्कली पार्टपुर्जा र गुणस्तरहीन लुब्रिकेन्टको प्रयोगले सवारी दुर्घटनाको जोखिम अत्यधिक बढाएको प्रहरीको भनाइ छ। यसले ठूलो मात्रामा जनधनको क्षति हुनुका साथै राज्यले पाउने राजस्वको ठूलो हिस्सासमेत गुम्दै आएको छ।
त्यस्तै, नक्कली तथा अवैध सामानको निर्वाध बिक्री-वितरणका कारण वैधानिक र पारदर्शी रूपमा व्यवसाय गर्दै आएका व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन्। कतिपय व्यवसायीहरू त व्यवसायबाटै पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको बताइएको छ।
यस विषयलाई गम्भीरताका साथ लिँदै प्रहरी प्रशासनले देशभर नै यस्ता नक्कली तथा अवैध कारोबारमा संलग्न व्यक्तिहरूको व्यापक खोजी र कारबाही प्रक्रियालाई तीव्र बनाइएको जनाएको छ।





प्रतिक्रिया